अनुजा -(कथा)

5 Likes Comment

पुस महिनाको एक साँझ, चिसो एकदमै बढिरहेको थियो | सूर्य आफ्नो गन्तव्यको नजिकै थियो सायद त्यसैले होला घामका पहेँला रेसाहरू पूर्वतिर सोझिएका थिए | म ती रेसाहरुलाइ आफ्नो आँखामा कैद गर्दै नजिक जाँदै थिएँ भने सूर्य म भन्दा पर पर भाग्दै थियो | अन्ततः सूर्य थानकोटको डाँडाबाट विलीन भयो म भने नयाँ बानेश्वर पुगेँ |

बाटोभरि मान्छेको भिड | सडकभरि गाडीको भिड | मान्छे- मान्छे सँग | गाडी- गाडी सँग अथवा भनौँ मान्छे र गाडी पनि एक-अर्कासँग ठोकिन्छन कि झैँ गरेर सबै दौडिरहेका थिए आ-आफ्नो गन्तव्यमा | गाडीको आवाज एकदमै गुन्जायमान थियो | आ-आफ्नो दिशातिर ब्यग्रल्ती दौडिरहेका ती गाडी देख्दा कुनै रेसिंग कम्पिटिसन हुँदैछ जस्तो लाग्थ्यो किनकि त्यो जाम, ट्राफिकको सिटीको आवाज अनि हातको इसाराबाट कुद्ने ती गाडीहरू साँच्चै कम्पिटिसनमा भाग लिएको जस्तो प्रतीत हुन्थ्यो | र त्यसरी नै एक-अर्कालाई अघि-पछि पार्दै दौडिरहेका गाडीहरू हेर्दा रमाइलो लाग्थ्यो |

सडक वारि पारि मान्छेको भिड पनि उस्तै थियो जस्तो सडकमा गाडीहरूको छ | मानौँ त्यो कम्पिटिसन हेर्न आएका दर्शकहरू | हैन क्यारे ! यी मान्छेहरू पनि म जस्तै आफ्नो गन्तव्यतिर पाइला फर्काउँदै गरेका हुन सक्छन् | हैनभने कतै … छ्या ! म पनि के सोचिरहेको हुँला ?

नयाँ बानेश्वर चोकको एक मात्र जेब्रा क्रस, जसलाई कुल्चन रेडी भएर बसेका म जस्तै कयौँ मान्छेको भिड सडक वारि-पारि टन्न थियो | बिचमा गाडीहरू दौडिरहेका थिए | वारि-पारि जाने मान्छेको भिड एकदमै बाक्लियो | ट्राफिकको सिटीले गाडी रोकिए र मान्छे दौडिन लागे | म पनि सोही भिडभित्र पसेँ र पारि जाँदै थिएँ एक्कासि पारि बाट आउँदै गरेकी एउटी केटी सँग ठोक्किन पुगेँ |

‘आँखा छैनन् ?’ उसले झर्किदै भनी |

‘सरि …’ म पछाडि फर्किएर सरि भन्दै गर्दा मेरो बोली एक्कासि रोकियो | आँखा भने उसको अनुहारमा ठोक्किए | मन …

‘तपाईँ ?’ उसले अचम्मित हुँदै सोधी |

‘तिमि ?’ मैले फिस्स मुस्कुराउदै भनेँ | मन अनौठो किसिमले शान्त भयो |

‘बिच बाटोमै के…’ कोही मान्छे हामी रोकिएको देखेर गाली गर्दै हामी सँगै ठोकिदै वारि पारि गरिरहेका थिए | हामी भने बिच सडकमै एक अर्कालाई हेरेर उभिरहेका थियौँ |

‘मैले तपाईँलाई फेसबुकमा म्यासेज पठाएकी छु रिप्लाई गर्नु है, अहिले अलि हतार छ जान्छु |’

यति भनेर उ सरासर अगाडी बढी र शंखमूल जाने बाटोतिर विलीन भई, म भने उ गएतिर हेरेर उभिरहें | ट्राफिकको सिटिको आवाजले झस्किएँ | फिस्स ओठमा हाँसो झुण्ड्याएर म पनि आफ्नो बाटो तेर्सिएं |

यो कस्तो संयोग ? कम्तीमा केही समय अगाडी नै म पारि पुगेको भए अथवा उ नै वारि आइपुगेको भए एकै छिन कुरा हुन् पाउँथ्यो | धत् ! एक अर्कालाई चिन्नु बाहेक अरू केही भएन यहाँ | फेरी सोचेँ, हाम्रो भेट हुनु नै थियो र त यहाँ भयो | कतै म नै अगाडी पुगेको भए अथवा उ नै अगाडी आइपुगेको भए उ सँग भेट यसरी नहुन पनि सक्थ्यो | यो भेट बिल्कुल संयोग थियो र त्यसरी ठोक्किनु अर्को संयोग |

मनभरिका उदासी किरणहरू एक्कासि अस्ताए | भर्खरै अस्ताएको घाम जस्तै | मन अनौठो किसिमले शान्त र शिथिल भयो | गाडीहरूको आवाज पनि मिठो धुन लाग्न थाल्यो | मान्छेहरूको त्यो भिडमा कतै कसै सँग ठोकिदापनि उसको शरीर सँग ठोकिएको आनन्दाता मनभरि छाइरह्यो |

***

नेपाल यातायातको महिला आरक्षण सिट, जहाँ अपरिचित केटीको परिचित अनुहार ढोकाबाट उक्लन बित्तिकै देखियो | कलेज ड्रेसमा सजिएकी ऊसँग लगातार ४ पटक मुलाकात भैसकेको थिएँ | सायद त्यो भन्दा धेरै पनि हुनसक्छ जो मलाई याद भएन तर दिनहुँ देखिरहदा उसलाई चिन्न गाह्रो भएन | सधैँ उभिरहेकी हुन्थी म सँगै, आज भने बस्न पाएकी रहिछे | सायद आज अलि लामो गाडी भएर हुनुपर्छ | म गाडी माथि उक्लिएँ |

‘दाइ पछाडि जानुहोस, सिट खालि छ |’ कन्डक्टरको अनुरोध स्वीकार गरेर म पछाडि गएर बसेँ | हिजोका दिनहरूमा बस्न नपाएर रिस उठ्थ्यो आज भने बस्न पाएर रिस उठ्यो | सोचेँ, सानो गाडी नै आउनुपर्ने नि |

अर्को दिन त्यसरी नै भेट भयो | संयोग भनौँ या के, उ बसेकै सिट खालि थियो | महिला आरक्षण सिट हो कि भनेर माथि हेरेँ, होइन रहेछ भन्दै उसको छेवैमा बसेँ | कानमा हेडसेट झुन्ड्याएर गीत सुन्दै सफर गर्नुको पनि मज्जा छुट्टै लाग्थ्यो तर आज गीत अफ गरेँ अनि हेडसेट भने झुन्ड्याईरहें | कतै उसले बोलाउली मैले नसुनुला भनेर |

कोटेश्वरमा धेरै लामो जामा पर्‍यो हुन त हिजोतिर भने नपरेको होइन | उसलाई हतार भएको हुनुपर्छ कलेज पुग्न | उ आत्तिएको महासुस मैले गरिरहेको थिएँ |

‘कति बज्यो ?’ उसले म तिर हेर्दै सोधी |

‘११ बज्न लाग्यो |’ मैले घडी हेरेर भनेँ |

‘ठ्याक्कै कति मिनेट भयो ?’ उसलाई मेरो उत्तर चित्त बुझेनछ |

‘दश बाउन्न भयो |’ अहिले भने हातमा भएको मोबाइलको स्क्रिनमा चलिरहेको समय हेरर जवाफ दिएँ |

हुन त मलाइ पनि ढिला भैसकेको थियो | क्लास सुरु भैसकेको थियो १०:४० मै तर आत्तिएको भने पटक्कै थिएन | किनकि उ म सँगै थिई | यस्तो लाग्थ्यो आज जाम नखुलोस |

‘कुन कलेज ?’ उसले लगाएको कोटको अगाडी CCRC लेखेको देख्दा देख्दैपनि मैले सोधिहालें पछि ग्लानि भयो |

‘CCRC’ उसले कुनै प्रतिक्रिया नजनाई उत्तर दिई |

‘ए, अनि कति मा पढ्दै ? म उ सँग बोल्न्न चाहन्थेँ | उ सँग नजिकिन चाहन्थेँ | त्यसैले उ सँग बोल्ने बाहाना खोज्दै प्रश्न सोच्दै बोल्न खोजिरहेको थिएँ |

‘११ मा |’ उसले सहज जवाफ दिई | न कुनै प्रतिप्रश्न | न कुनै अवरोध | बस मेरै प्रश्नको जवाफ मात्र फर्काइरहेकी थिई |

उसलाई ढिला भएको छ भन्ने उसको व्यवहारले देखाइरहेको थियो त्यसैले लाग्यो अब पनि म केही बोलेँ भने उसलाई रिस उठ्ने छ | उ म सँग रिसाउने छे | त्यसैले म चुपचाप रहेँ | कन्डक्टर भाँडा उठाउदैं आयो उसले पैसा सँगै आइडी पनि दिई त्यसैबखत मैले उसको नाम थाहा पाएँ अनुजा भण्डारी |

त्यसरी नै प्रत्यक दिन हाम्रो भेट नेपाल यातायात मै हुन थाल्यो | संयोग पनि कस्तो भने म थापागाउँमा गाडी चढ्ने उ चाहिँ बिजुलीबजार | पछि पछि म पनि अलि अगाडीनै आएर बिजुलीबजार जान्थेँ | उ सँगै गाडी चढ्न थालेँ | उसको र मेरो समय एकै भयो | कहिले सिट पाए उ बस्थी | मेरो ब्याग भने जबर्जस्ति बोकी दिन्थी | कहिले सिट नपाउँदा दुवैजना उभिएर एक-अर्का सँग टासिएर जान्थ्यौ | यसैमा आनन्दित हुन्थ्यौ | दिनहरू ढल्दै गए | यति छोटो समयमा उ म सँग एकदमै नजिक भैसकेकी थिई | यतिसम्म कि स्टेसनमा गाडी पर्खने भन्दा मलाई पर्खेर बसेकी हुन्थी | कहिलेकाहीँ थापागाउँ सम्म आइपुगेकी हुन्थी |

‘मोबाइल बोक्दिनौ ?’ यसरी एक दिन गाडी पर्खेरहेको बेला सोधेँ |

‘कलेज मा लिन दिँदैन, बोकेर के गर्नु ?’ उसले असहज रूपमा सहज जवाफ दिई | मैले उसको कुरा महसुस गर्न सक्थेँ किनकि म पनि ती दिनहरू पार गरेर आएको हुँ |

‘फेसबुक चलाउँदिनौ ?’ नम्बर माग्ने आइडिया असफल भएपछि फेसबुकको सहारा लिएँ तर त्यो पनि एक शब्दमै असफल भयो |

‘किन नि ?’ अहिलेको दुनियाँमा फेसबुक चलाउदीन भन्ने मान्छेहरू लाई सोधिने प्रश्न मैले उ तिर सोझ्याएँ |

‘यतिकै, मन नै लाग्दैन |’ मन नलागी नलागी उसले जवाफ दिई |

‘अनि कहाँ लाग्छ नि मन ?’ सक्दो मुस्कुराउदै सोधेँ |

‘कतै लाग्दैन |’ उसले पनि मुस्कुराउदै भनी |

गाडी आयो | सधैझै भरिभराउ थियो गाडी |

‘यस्तो हालतमा यात्रा गर्दा कहिलेकहीँ त बाइक किनौँ झैँ लाग्छ |’ मैले भनेँ |

‘उसोभए त हाम्रो यात्रा टुंगिने भयो |’ उसले म तिर हेर्दै भनी |

‘तिमि सँग यात्रा गर्छु र त, बाइकभन्दा नेपाल यातायात नै ठिक छ भनेर रोकिन्छु |’ उसको दु:खी हुनै लागेको चेहरालाई खुसी बनाउन प्रयास गर्छु |

‘हैन किन्नु, मेरो लागि आफ्नो खुसी किन बर्बाद गर्नुहुन्छ ?’ उसले दुखित स्वरमा भनी |

‘अहिले त म यसैमा खुसी छु |’ मैले सक्दो खुसी बनाउन प्रयास गरेँ |

‘है …?’

उसलाई यो कुराले पिरोलेछ सायद | हामी मौन रह्यौँ | यस्तो लाग्यो सबैतिर सुनसान छ | हामी दुवै जना असीम अविश्वासको दायरा भित्र उभिएका छौँ | एक-अर्काको सम्मोहनप्रति लाचार भैरहेका छौँ |

मेरो चौथो सेमीस्टार को जाँच आउन लागेको थियो | कलेज नलाग्ने भएपछि म त्यो रुटमा कम्तीमा १ महिना हिड्नुपर्ने थिएन | त्यसैले उसलाई यो सब भनौँला भनेको दिन उ अनुपस्थित भई | सायद उ उपस्थित हुँदा म अनुपस्थित भएँ | बिचमा केही दिन पहिलेकै समयमा म त्यहाँ पुग्थेँ तर उसलाई कहिले देखिन | उ सँग सम्पर्कमा आउने त्यो बाहेक कुनै बाटो म सँग थिएन | सोच्थेँ, उसले पनि मलाई पर्खी होला जसरी पहिले पर्खंथी | अनि निराश हुँदै नेपाल यातायात भित्रको  भिडभाडमा असहज मान्दै कलेज पुग्दी हो |

***

घर पुगेर हतार हतार ल्यापटप अन गरेर फेसबुक खोलेँ | अनि सम्झिएँ उसले त फेसबुक नै चलाउदीन अनि कसरी मलाई म्यासेज गरी ? उसको नाम सर्च गरेँ भेटिएन | उ देखि रिस उठ्यो | लाग्यो, झुट बोलेर गई | म्यासेज रिक्वेस्ट मा क्लिक गरेँ मेरा आँखा सुरुमै एउटा म्यासेज मा परे जहाँ ‘सुसी’ बाट म्यासेज आएको रहेछ | म्यासेज खोलेँ र पढ्न थालेँ –

‘हेलो, कहाँ हराउनु भयो ? मैले तपाइलाई एक हप्तासम्म सधैँ पर्खिएँ तर तपाईँ नआउँदा एक्लै बस चढेर जानु शिवाय विकल्प केही थिएन | त्यसरी पर्खँदा सधैँ क्लास मा लेट पुग्थेँ र गाली खाइन्थ्यो अनि पर्खन पनि छोडेँ |’

‘प्लिज म्यासेज रिप्लाई त गर्नुहोस् |’

‘बाइक किन्नु भयो ?’

‘हेलो’

यतिका म्यासेज आएको रहेछ मैले कैलेपनि रिक्वेस्ट हेर्ने चेष्टा गरिनँ | सम्झँदा ग्लानिबोध भएर आयो | उसको प्रोफाइल खोलेँ फ्रेन्ड रिक्वेस्ट पनि आएको रहेछ म नचिनेको मान्छेको रिक्वेस्ट एसेप्ट गर्दैनथेँ र त्यसको असर उसलाई पर्‍यो सायद | उसले आफ्नै नामबाट रिक्वेस्ट पाठको भए यो सब हुने थिएन आखिर किन उसले आफ्नो नाम र फोटो देखाउन नचाहेकी हो ? अचम्मित भएँ |

‘हाइ अनु, सरि फर इभ्रीथिंग | मेरो एक्जाम चलिरहेको छ, यो कुरा तिमीलाई भन्ने कुनै ठाउँ भेटिन जसको कारण तिमीलाई दु:खी बनाएँ | म पनि तिमीसँग भेट हुन्छ कि भनेर थापागाउँ, बिजुलीबजार नपुगेको होइन तर तिमीलाई भेटाउन सकिनँ | अनि तिम्रो नाम फेसबुक मा सर्च पनि गरेँ तर तिमीलाई भेटिन | अर्कै नाम र फोटो राखेर रिक्वेस्ट पठाएकी रहेछौ अपरिचित लागेर एसेप्ट गरिनँ | सरि अगेन |’ म्यासेज टाइप गरेर पठाइदिए |

‘इट्स ओके |’ आज भेट भयो धेरै खुसी लाग्यो |’ उसले स्माइल इमो सहित म्यासेज पठाई |

‘मलाई पनि धेरै खुसी लाग्यो | मलाई त अब हाम्रो भेट नेपाल यातायातमै हुन्छ होला भन्ने लागेको थियो तर आज यसरी भयो मन हलुङ्गो भएको छ |’ मैले खुसीको भाव व्यक्त गरेँ तर उसलाई कस्तो फिल भइरहेको छ भन्ने कुरा जान्न असफल रहेँ |

‘ए…अनि एक्जाम कैले सकिन्छ ?’ उसले सोधी |

‘भोलि अन्तिम छ |’ मैले जवाफ दिएँ |

‘ल अहिले पढ्नुहोस अनि भोलि राम्रो गर्नुस् अनि भेट्ला हुन्न ?’

‘ओके स्यौर | कतिबजे ? कहाँ ?’ मैले भनेँ |

‘तपाइको एक्जाम कति बजे सकिन्छ ?’ उसले सोधी |

‘३ बजे | म साढे तिन बजे बालकुमारी आइपुग्छु |’ मैले भने |

‘ओके तपाईँ ४ बजे तिर मेरो कलेज अगाडीको क्याफेमा पर्खनु म आउँछु |’

‘ओके स्योर |’

‘अल दि बेस्ट |’ उसको शुभकामना प्रिय लाग्यो यति सम्म कि अब त नपढेरै पनि एक्जाम राम्रो हुन्छ जस्तो |

‘थ्यांक यु |’ हार्ट इमो सहित मैले रिप्लाई दिएँ |

उताबाट स्माइलिङ इमो मात्र रिप्लाई आयो र अफलाइन भयो |

 

केही बिहान यस्ता हुन्छन् जुन बिहानीमा हिँड्दा आफ्ना पाइलाका पदचाप पनि प्रेमिल जोडीको ढुकढुकी जस्तो लाग्छन् | सायद ती पाइलाहरू उभ्याउने सडकलाई पनि लाग्न सक्छ कि यी केवल पाइला मात्र होइनन यी त प्रेम जोडी पनि हुन् जो एक-अर्का बिना चल्न सक्दैनन् | जीवनका केही साँघुरा गल्लीहरुपनि निराशता सँग पार लाग्छन् |

हिउँदका यी दिनहरूमा उत्तरतिर बाट बगेर आउने सिर्सिरे चिसो हिमाली हावामा चौर अनि अग्ला अग्ला रुखहरू सिर्सिराइरहन्थे  र साथमा शिरिषका नाङ्गा हाँगाहरुपनि कांपीरहन्थे | निलो आकाशको छातीमा सूर्य हासिरहेको हुन्थ्यो | यता उता २/४ चिलहरु वेग मारिरहेका हुन्थे | म र अनुजा भने एक-अर्का प्रति सम्मोहित भएर हिडिरहेका थियौँ | सडकमा गुडिरहेका गाडीहरूको ध्वनिपनि उसको सम्मोहनले मिठो लाग्न थाल्यो | सिरिरी चलिरहेको बतासले उसको कपाललाई घरी घरी जिस्काईरहन्थ्यो र उ भने आफ्ना लामा लामा औलाहरूले आफ्ना केशहरू पछाडि फर्काइरहन्थी |

फेरी हाम्रो पहिलेजस्तै नेपाल यातायातको यात्रा सुरु भयो | उ प्रति मेरो लगाव पनि बढ्दै गयो | सधैजसो भैरहने मुलाकात अनि आ-आफ्ना मनपसंद कुराहरू साटासाटले एक-अर्कालाई नजिक बनाउन ठुलो सहयोग गरिरहेको थियो |

माघ महिनाको अन्तिम तीरको एक साँझ, म चौरमा बसेर अनुजलाई पर्खिरहेको थिएँ | चिसो कम हुँदै गएको आभास भइरहेको थियो | शिरिषका रुखहरूले आफ्ना हाँगाभरि हरिया पातहरू जोड्दै थिए | आकाश आफ्नो घुम्टो लुकाएर सफा र सुन्दर देखिएको थियो | मेरा आँखा एक्कासि पर बाट आउँदै गरेको एउटी स्त्रीको पृष्टभागमा गएर अड्कियो | मलाई ठम्याउन गाह्रो भएन उ अरू कोही नभएर अनुजा थिई | सधैँ कलेज ड्रेसमा देखिएकी उ आज फरक पहिरनका साथ मेरो नजिक थिई | उ आज असाध्यै राम्री देखिएकी थिई, यस्तो भनौँ मलाई त्यस्ती लाग्थी त्यतिनै राम्री सायद जति कल्पना गर्न सकिन्छ | यसको मतलब अघिल्ना दिनहरूमा नराम्री भने पक्कै थिइन | उसले रातो सिम्रिक रङ्ग को कुर्ता र बाहिर कफी कलर को सुइटर अनि हरियो रङ्गको  सुरुवाल र हरियो रङ्गको साल ओढेकी थिई | बाक्ला, काला केशहरू काँधसम्म छुनेगरी छाँटिएका थिए | उ मेरो नजिकै आइ | मेरा आँखाभने उ बाहेक अनेत्र कतै पनि जान मानेनन् | उ आएर मेरो छेवैमा बसी | मन अनौठो किसिमले धड्किरहेको थियो | बोल्नलाई शब्दहरू एकाएक हराएको आभास भयो | हामी एक-अर्कालाई हेर्दै चुपचाप बसिरहेका थियौँ मानौँ त्यसरी हामी एक-अर्कालाई जांचीरहेका छौँ | तौलिरहेका छौँ | मौनता आफ्नो समग्र सघनताका साथ आएर हाम्रो बिचमा फ्रिज हुन्थ्यो | सबै सबै कुराहरू बडो अबास्ताबिक लाग्थे | कहाँसम्म भने हामीलाई आफ्नै उपस्थिति पनि भ्रमात्मक लाग्यो |

बेलाबेलामा सिरसिर हावा आएर उसको सुन्दर केशहरुसंग जिस्किर जान्थ्यो | उ भने  सम्मोहितझैँ पारि पट्टि आकाशिएका शिरिषका रुखपंतिहरु बिच हराइरहेकी थिई | अचानक म तिर फर्केर स्वप्निल आवाजमा उसले सोधी-

‘यो बाक्लिदै गैरहेको साँझ, यो चौर अनि यी अग्ला अग्ला रुखहरू तल फैलिएको निर्बाध एकान्त तपाइलाई कस्तो लाग्छ ?’

‘यस्तो लाग्छ, म यो मौनताको संगीतसंग एकालय भएको छु र यी सब सँग एकीकृत हुदैछु |’ मैले भनेँ |

यस्तै यस्तै जीवन, भोगाई, देखाई, हेराइ, पिडा आदि इत्यादि कुराहरू गरेर करिब १ घण्टा बितेको पत्तै भएन | सूर्यले डाँडा काटिसकेको थियो | पश्चिमतिर देखिने त्यो पहेँलो छितिज हेर्न लाइक भएको थियो | हामी त्यहाँबाट उठेर आ-आफ्नो गन्तव्य तिर फर्कियौँ छुट्टीदै गर्दा उसले भनी-

‘सुन्नु त ?..’

‘अ भन |’ मैले भनेँ |

‘बाइकको लागि अपुग पैसा म थप्छु नि है ?’

You might like

About the Author: Suman Khadka

Hi Howdy, This is Suman Khadka, Startups Enthusiast, Full Stack Developer, Occasional Blogger, Wannabe Entrepreneur, Amateur Philosopher, Poet & Columnist.

Leave a Comment