इन्स्टा स्टोरी-कथा

इन्स्टा स्टोरी-कथा

१६ जुन २०१८, वर्ल्ड कपको सिजन सुरु भैसकेको थियो | म खासै स्पोर्ट्सतिर रुचि नराख्ने मान्छे, दिउसोतिर को समयमा इन्टाग्राम को स्टोरी स्लाइड गर्दै, हेर्दै थिएँ | ठ्याक्कै एउटा स्टोरीमा गएर रोकिएँ | जहाँ पोल कृयट गरिएको थियो अर्जेन्टिना भर्सेस आइसल्यान्ड को | मैले एक छिन सोचेँ र आइसल्यान्ड मा क्लिक गरेँ त्यसैको रिप्लाईमा लेखेँ ‘आज आइसल्याण्डले जित्नै पर्छ |’

रिप्लाई त गरेँ तर कसलाई पो गरेँ, किन गरेँ भनेर मनमा एक किसिम को आत्मग्लानि भयो | उसको प्रोफाइल खोलेर हेरेँ | सुरुमै मेरो आँखा उसले राखेको प्रोफाइल पिक्चर मा ठोकिए जहाँ मेस्सीको मुस्कान टाँसिएको थियो |

एंग्री इमो आयो र सँगै लेखिएको थियो-

‘इम्पोसिबल, बिचरा आइसल्यान्ड कति गोल खाने हो आज |’

‘सरि टु से, यो गेम हो भन्न सकिँदैन, के थाहा आज हजुरको डिपीले गोल खान्छ कि ?’

सिल्ली इमो सहित मैले भने |

‘बाजी ?’

उताबाट एक्कासि उत्तेजित प्रश्न खडा भयो |

‘नो नो, आइम नट इन्ट्रेस्ट एट अल, बट यु नो ? आइ डन्ट लाइक मेस्सी एन्ड म खासै स्पोर्ट्स हेर्दिनँ |’

उसको उत्तेजित प्रश्नलाई शिथिल बनाउने प्रयास गरेँ |

‘ओह! कुरा यसो पो ? फुटबल नहेर्ने मान्छेलेनै हो मेस्सीलाइ जज गर्ने हेर्नेले त राम्रै मान्छन् |’

उसले मौका पाएकी थिई मलाई कमजोर बनाउन | नबनाओस पनि कसरी कुरै त्यस्तै गरेको जो छु | उसको अगाडी कमजोर साबित भैसकेको छु | म्यासेज सिन गरेर पनि हात किवर्डमा टासिन मान्दैनन् | के भन्ने के को प्रतिशोधको विषयलाई लिएर मनमा शब्दहरूको भयानक युद्ध चल्यो तर शब्दहरू हारिरहेका थिएँ |

‘के भयो ? बोल्न सक्नुभएन त |’

हाँसेको इमो सहित उसले लेखि |

‘त्यस्तो होइन, म अलि फरक सोचाई भएको मान्छे हुँ, लाइक- अरू धेरैलाई मन पर्ने कुरा/चिज मलाई मन पर्दैन अनि त्यसको अल्टरनेट खोज्छु | अनि अर्को कुरा, मन नपरे पनि सबैलाई रेस्पेक्ट भने पक्कै गर्छु |’

सिधा सिधा कुरा भनिदिएँ |

‘आइ थिंक, यु आर राइट | मलाई पनि मेस्सी मन पर्छ बट अरू सबैलाई रेस्पेक्ट पक्कै गर्छु |’

उताबाट सहमतिको हात उठ्यो | बल्ल मनमा चलेको युद्ध शान्त भयो |

मेस्सी को अनुहारले गर्दा उसको नाम पनि हर्न बिर्सिसकेछु | हेरेँ युजरनेम र नाम दुवै सेम थियो- श्रेया | बायो मा लेखिएको थियो-

मेस्सी (लभ)

बार्सा(फुटबल)

बार्सिलोना र मेस्सी ले भरिएको प्रोफाइलबाट बाहिरिएँ | अनि लेखेँ-

‘मान्छे कसैको यति ठुलो फ्यान कसरी बन्न सक्छ हँ ? अचम्म लाग्यो |’

स्माइली इमो सहित भनेँ |

‘जीवनमा सबै मान्छे कसै न कसैको फ्यान जरुर हुन्छ तपाइले आफ्नो फ्यान/क्रसको पहिचान नगरेको मात्र हो |’

एक छिन् घुमिरहेको दिमागलाई बेजोडले चारैतिर घुमाएँ | ऐले सम्म हेरेको गेमहरू मनभरि खेलेँ-गेमरहरु याद गरेँ, ऐले सम्म हेरेका फिल्म्स आँखा अगाडी झल्झली हेरेँ-कलाकारहरू याद गरेँ, कानैभरि गीतहरू गुन्जिए- गायकहरू याद भए, बेस्ट स्पीचहरु याद गरेँ- नेता/स्पिकरहरू याद भए, सर्माउदै गफिएका केटीहरू याद गरेँ-वान साइडेड लभ परेका अनुहारहरू झल्झली अगाडी आए | यी र यस्ता मनमा सेभ भएका अतीतहरू क्रमशः डिस्प्ले हुँदै गएँ तर अहँ, मैले आफ्नो क्रस पहिचान गर्न सकिनँ |

‘सायद होला, मैले चिन्न सकिनँ | तिमि नै भनिदेऊ न कसरी चिन्नु ?’

मैले भने |

उताबाट २ ओटा हाँसेको इमोजी मात्र आयो | फेरी थपियो-

‘तपाईँ कसको सपोर्टर ?’

‘म कसैको होइन बट नेपाल मा धेरै फ्यान भएको देशहरूले हरिदियोस् भन्ने मात्र चाहन्छु |’

हाँसेको इमो सहित सेन्ड गरिदिएँ |

संयोगले ऊ पनि कफी लभर रहिछे | एक दिन पिउँदै गरेको कफीको कप स्टोरी राखेको थिएँ त्यहाँ उसको रिप्लाई थियो-

‘आइ लभ कफी |’

‘कफी को ठाउँमा मलाई रिपिलेस गरिदेऊ न’

मैले भनेको थिएँ |

‘होस्! कफी को ठाउँमा कफी नै ठिक छ |’

उसको रिप्लाई आउँछ |

बिस्तारै बिस्तारै ऊ सँगको सामिप्यताले झन् नजिक बनाउँदै जान्छ | हरेक कुराको खण्डन गर्न अब्बल थिई श्रेया | उत्तिकै रमाइलो पनि | अलिअलि हुँदै धेरै बेर सम्म बोल्न थाल्यौ | उसले भनेका शब्दहरूको अर्थ एकै भए पनि अर्कै तरिकाले प्रस्तुत गर्थी | उसले लेखेका शब्दहरू मैले उसकै आवाजमा सुनेको कल्पना गर्थेँ, एकदमै आनन्द लाग्थ्यो | मैले पनि कहिलेकाहीँ उसको बोल्ने शैली कपि गर्ने चेष्टा गर्थेँ तर सधैँ फेल हुन्थेँ | कहिलेकाहीँ जिस्काइदिन्थेँ ऊ रिसाएको अभिनय गर्थी | क्युट अभिनय | जो नहेर्दै त मजा लाग्थ्यो हेर्दा झन् कस्तो हुन्थ्यो होला ? मनमनै कल्पना गर्थेँ |

‘नजिकै रहिछौ भेटौँ न |’

च्याट गर्दा मैले भनेँ |

‘हेलो महोदय! त्यो बाटोमा नहिड्नुहोस ल, फेरी फर्केर यहाँ आउने सम्भावना नहोला |’

उसले मेरो अगाडी पर्खाल ठड्याउने प्रयास गरी |

‘त्यो बाटो हिँडेर गन्तव्यमा पुगिन्छ भने किन फर्कनुपर्‍यो ?’

उसले ठड्याएको पर्खाल भत्काइदिएं |

‘यदि पुगिएन भने ?’

उसले थप प्रश्न गरी |

‘म हिँडे भने कहिले पनि आधा बाटोबाट फर्किँदैन | गन्तव्यमा पुगेरै छोड्छु |’

‘हाहा रमाइलो हुनुहोदो रैछ |’

उसको स्माइली रिप्लाई आयो |

‘एकदम, तर तिमिजतिकै छैन | सो, कहिले भेटिने ?’

मैले भने |

‘मैले कैले भने र भेटम भनेर |’

उसले फेरी इट्टा थपी | सायद यसैलाई भन्दो हुन् भाउ खोज्नु भनेको |

रिप्लाई दिन मन लागेन र सिन गरेर छोडिदिएँ |

‘टुमरो ४ पीएम, एट फ्रेन्ड्स क्याफे घट्टेकुलो | एन्ड कल मि एट ९८*******’

एकै छिन पछि उसको फेरी रिप्लाई आयो केही खुसीका बहार छर्दै |

‘तिमि अचम्म कि छौ है |’

मैले भने |

‘किन ?’

‘किनकि भर्खरै हुँदैन जस्तो गर्छौ अनि एकै छिन मा मान्यौ आखिर तिमि अचम्मको भएर त होला नि |’

काला गिजा भएका हँसिला दाँत सहितको इमोजी पठाएँ |

‘मलाई त्यस्तो लाग्दैन तर यदि तपाइले भेटौँ भन्न बित्तिकै मैले हुन्छ भनेको भए, तपाइको नजरमा फरक देखिन्थेँ |’

‘सायद त्यस्तो केही सोच्ने थिएन होला मैले | थ्यांक यु फर द्याट |’

मैले भने |

बिहानै देखि पानी परिरहेको छ | घरभित्र बस्दा सम्म त पानी परेको पनि आनन्द लाग्छ जब पानीमा बाहिर निस्कनुपर्ने हुन्छ तब त्यो आनन्द निधारबाट खसेको पसिना भुइँमा पुगेर पाइन्ट माथि हिलो उछिट्याएझें हुन्छ |

‘हे झरी! त अहिले जति झर्नु छ झर है ३ बजे देखि मेरो लागि रोकिएस् प्लिज |’

मन मनै भने | हुन पनि त्यस्तै भयो २ बजे पछि पानी पर्न बन्द भयो र मौसम यति रोमान्टिक भयो कि मेरै लागि बदलिए झै भएको थियो |

ठिक ४ बजे फ्रेन्ड्स क्याफेमा पुगे | श्रेया आइपुगेकी थिइन | फोन लगाएँ |

‘१० मिनेट मा आइपुगेँ |’

उसले रिप्लाई दिई | म भने उसलाई चिन्नु वा नचिन्नुको दोसाँधमा उभिरहेको छु | ३ ओटा फोटो स्क्रिन क्याप्चर गरेर राखेको थिएँ | हेरिरहेँ | जूम इन्, जूम आउट पनि भइरह्यो | बारम्बार |

निलो रङ्गको कुर्ता र रातो चुन्गीदार सुरुवाल पहिरिएकी परिचित लाग्ने अनुहार बिस्तारै मेरो नजिक आइरहेको थियो | मलाई सम्झना छ रातै रङ्ग को सल ओढेकी थिई | फुक्का छोडेका बाक्ला, लामा केशहरू काँध छोएर तलसम्म झरेका थिएँ | घरीघरी हावाले उडाएर अगाडी ल्याउने कपाल पछाडि धकेलेर मुस्कुराउदै मेरै अगाडी आइ |

‘हाइ!’

हात हल्लाउँदै मेरै अगाडी आएर बसी |

‘हेलो |’

मैले पनि औपचारिकता निभाएँ |

‘सरि फर लेट’

‘नो नो, इट्स ओके |’

मैले भने |

‘अनि ?’

अनि त उसको र मेरो फेवरोइट कफी पिउँदै, मौसम अनुसारको बात गर्दै १ घण्टा बस्यौ | ऊ बिल्कुल उस्तै थिई जस्तो मैले कल्पना गरेको थिएँ | उस्तै व्यवहार, उस्तै बोली, उस्तै मुस्कान | यस्तो लागिरहेको थियो कि यो हाम्रो पहिलो भेट पक्कै होइन | हामी धेरै पहिले देखि एक अर्कालाई जान्दछौ, चिन्दछौ | उसको सबै क्रियाकलापले मलाई पहिलो भेट पनि पहिलो लागेन | सायद ऊ पहिलो थिई जो यति छिटै मेरो करिब थिई | म अलि सिरियस नेचरको मान्छे | खासै नबोल्ने भए पनि उ सँगको सामिप्यताले मलाई ऊ जस्तै बनाएको थियो |

करिब १ घण्टा बसेर निस्कँदा मैले भनेँ-

‘तिमि सबैसँग यतिकै फ्र्यांक छौ ?’

‘होइन, धेरै कम सँग छु |’

उसले भनी |

‘साच्चिकै रमाइलो लाग्यो तिमि |’

‘रमाइलो मात्रै ?’

‘हैन राम्री पनि छौ |’

फ़ुर्क्याइदिएं |

‘उफ्! हेर न फ़ुर्क्याएको |’

उसले भनी |

‘म झुट बोल्दिन |’

मैले भनेँ |

‘होस् होस् बाइ |’

बिस्तारै हाम्रो भेटहरू पनि बाक्लिदै गएँ | कहिले उज्यालोमा भेटियौँ | कहिले अँधेरोमा पनि भेटियौँ | कहिले पानीमा भिज्दै हिँड्यौ | कहिले एउटा छाता दुवैले ओढेर हिँड्यौ | थाहा छैन त्यसरी हिँड्नु थियो या थिएन तर पनि हिडीरह्यौ | हिँड्दा हिँड्दै कयौँ पटक हाम्रा स्पर्शहरू साटिए तर मनको स्पर्श साटिए जस्तो आनन्द कुनैमा थिएन | उसलाई भेटेपछि यस्तो लाग्न थालिसकेको थियो कि अब उप्रान्त कसैसँग भेट नहोस् | उसको स्पर्शले मुग्ध भएको शरीर अरू कसैसँग छोइने डरले हुल देखि टाढा भाग्थ्यो |

उसमा केही त खास भएरै होला चाडै हाम्रा गोरेटाहरू एकै हुन थाले | मनभरिका वितृष्णाहरू एकाएक कायापलट हुन थाले | अभावले भरिएका बाँझा आँखाबाट सुनौला किरणहरू देखिन थाले | आखिर यो सब उसकै कारण त भएको हो |

३० जुन २०१८, उसको प्रिय क्रस मेस्सीको परीक्षा थियो विश्वकपको यात्रा यही सम्म हो कि अझै छ भन्नेमा | फेरी पोल कृयट गरेकी थिई- अर्जेन्टिना भेर्सेस फ्रान्स | मैले फेरी फ्रान्समै क्लिक गरेर लेखेँ-

‘आज तिम्रो क्रस घर जाने दिन, मजा हुने भयो |’

‘जाँदैन | स्योर जित्छ आज |’

उसको कन्फीडेन्स देख्दा लाग्थ्यो कि ऊ नै खेल्दै छे |

यही कुरालाई लिएर विवाद भयो ऊ रिसाई | मैले त्यसैमा झन् जिस्काइदिन्थेँ | उसले म्यासेजको सट्टा इमोजीबाट कुरा गर्न लागि | स्याड इमोसन जनाउने इमोजी | मैले पनि पानको पात वाला इमोजीहरु पठाइरहेँ तर के गर्नु उसको स्याड इमोसन पानको पातले रिपिलेस गरेन |

गेम मैले भनेजस्तै भयो तर | अर्जेन्टिना ले हार्यो | उसको क्रस घर फर्कियो | ऊ भने बोल्दै बोलिन | फोन गरेँ, म्यासेज गरेँ अह केही रेस्पोन्स गरिन | बेकारमा भनेछु भनेर पछुताउनु बाहेक केही गर्न सकिएन |

नयाँ बानेश्वरको व्यस्त सडक | गाडीहरूको प्याप्या पु पू किरिर्लिंग आवाज कानभरि दौडी रहेको थियो | टाउकोमाथि छाता झुण्ड्याएर पनि आधा शरीर भिजिसकेको म अझै पनि जुत्ता भित्र पानी नपसोस भनेर फुटपाथको साइड साइड हुँदै हिँडिरहेको थिएँ | केही छाता नओढेका मान्छेहरूको हतारो पन यति सम्म थियो कि एक ले अर्कालाई किचेर पनि पछाडि नफर्की अगाडी दौडिन्थे मानौँ तिनीहरू म्याराथनको धाबकमार्गमा प्रतिस्पर्धा गरिरहेका छन् | त्यतिकैमा अर्को मान्छे त्यसरी नै मेरै अगाडी बनेको ढलको पोखरीमा चुप्लुंग खुट्टा बजारेर अगाडी बढ्यो |

‘हे यु…’

मैले यति शब्द फ्याँक्दा ऊ त मेरो आँखाबाट ओझेल परिसकेको थियो | खुट्टातिर आँखा खसाएँ, भिज्न बाँकी ठाउँ कुनै थिएन | सम्हालेर हिँड्दा पनि जुत्ताभित्रको खुट्टाले पानी पीइसकेका थिए |

पानी झन् बढी बढी पर्न थाल्यो | एउटा पसलको छेउमा ओत लागेँ | मेरा आँखा केही परको पसल अगाडी उभिएर झरिरहेका पानीका थोपाहरू हातमा खेलाउँदै उभिएकी युवतीको पृष्टभागमा गएर अडिए | ऊ अरु कोहि नभएर श्रेया थिई | म पनि उसकै छेउमा पुगेँ | ऊ झस्कीइ |

‘मेरो पिछा गरेको ?’

उसका चहकिला ओठबाट एउटा प्रश्न फुत्त बाहिर निस्कियो |

‘अँ हो |’

मैले पनि नसुहाउँदो मुस्कान फ्याँक्दै भनेँ | ऊ नबोली हिँड्न थाली |

‘ए म सँग छाता छ त्यसरी नभिज न |’

छाता अगाडी तेर्स्याउदै मैले भने |

‘चाहिँदैन मलाई तिम्रो छाता |’

ऊ त साच्चिकै अगाडी गइसकेकी थिई | म दौडिएँ | छाता ओढाई दिएँ | केही बोलिन |

‘सरि श्रेया, म यतिकै जिस्केर भनेको के हिजो, मलाई के थाहा त त्यस्तो होला भनेर ? अनि अहिले आउँदै गर्दा ठ्याक्कै तिमीलाई देखेँ र भेट्न आएको | हुन त त्यही कुराले तिमि नरिसाउनु पर्ने भन त के भयो फोन, म्यासेज केहीको रेस्पोस छैन |’

श्रेया केही बोलिन | मात्र हिँडिरही | मेरै छाताको ओतमा |

‘कफी ?’

मैले ऊ तिर फर्केर आग्रह गरेँ | ऊ नि:शब्द थिई | मौन थिई | किनकि ऊ म सँग रिसाएको नाटक गर्दै थिई | मात्र उसका हिँडिरहेका पैतालाका बोलिरहेका थिएँ |

‘केही त बोल |’

मैले पु:न आग्रह गरे | उसले म तिर पुलुक्क हेरी र मिठो मुस्कानका साथ भनी-

‘मटका ?’

‘ओके |’

मैले पनि मुस्कुराउदै भनेँ र मटकाको बाटो अगाडी बढ्यौ |

‘तिमि त अचम्मको मान्छे रहिछौ |’

अगाडी बढ्दै गर्दा मैले भनेँ |

‘कसरी ? कस्तो अचम्म ?’

उसले उत्सुकताका साथ भनी |

‘एकै छिन् मा रिसाइदिने, एकैछिनमा मुसकुराइदिने अचम्म भएन त ?’

‘अचम्म मान्यौ ? यो त कला हो कला | जसले पायो त्यसले कहाँ गर्न सक्छ भन त |’

उसले झन् फुरुंग हुँदै भनी |

‘हो रैछ, माने तिमीलाई |’

‘के मान्यौ ?’

एकाएक सवाल जवाफ गर्न थाली |

‘यही कि तिमि कलाकार रहिछौ भनेर |’

मैले भनेँ |

‘सङ्गत गर्दै जाऊ, के के मान्छौ अझै |’

म तिर फर्केर हाँस्दै भनी |

‘सङ्गत गर्ने हो भने पिछा गरेको आरोप लगाउने हौ कि ? डर पो लाग्छ |’

उसको सङ्गत गर्दै जाऊ शब्दले मनमा केही ऊर्जा थपिदियो र झन् जिस्कन मन लाग्यो |

‘डरपोक |’

म तिर फर्केर हाँस्दै भनी |

मटका पुग्यौ | क्यापाचिनो अर्डर गरेर अगाडी गएर बस्यौ |

‘तिमि साच्चिकै रिसाएको हौ हिजोको कुराले ?’

मैले फेरी त्यही कुरा बुझ्ने प्रयास गरेँ |

‘किन के जस्तो लाग्यो तिमीलाई ?’

शब्दहरूको दोहोरो भिडन्तमा भिड्न माहिर ऊ, सवाल जवाफ गर्नमा उत्कृष्ट थिई |

‘मलाइ रिसाएको होइन, रिसाएको नाटक गरे झै लाग्यो |’

मनमा लागेको कुरा भनेँ |

‘उसो भए त्यही सोच’

मुस्कुराउदै भनी |

त्यही मुस्कान त थियो खास जसले मलाई उसको नराम्रो पक्षलाई भुलाइदिन्थ्यो | मनभरि उम्रिएका वितृष्णाका बोटहरू कफीको चुस्कीसंगै पिएर सक्यौँ | प्रेमकुन्जमा बसेर रोमान्टिक बातहरू को यात्रा गर्‍यौ | एक घण्टाको यात्रामा वर्ल्ड कप देखि झरी सम्मको हाम्रो कथा नयाँ नयाँ सिनहरू सँगै डिस्प्ले हुँदै गएँ | हामी आनन्दले हेर्दै हिँड्दै गरिरहायौ | मलाई लाग्दै थियो- हाम्रो यो यात्रा अब सधैँभरि सँगै अगाडी बढ्ने छ तर उसलाई ? मेरो मनमा प्रश्न चिन्न खडा भयो |

‘सुन न ?’

एक्कासि दुबै जना सँगै बोल्यौ | दुवैको ओठबाट हाँसोको फोहोरा निस्किएँ |

‘अँ तिमि भन |’

मैले उसलाई पालो दिएँ |

‘हैन तिमि भन |’

उसले मलाई भनी |

पहिले तिमि, पहिले तिमि को बहानामा म हारेँ र भनेँ-

‘अब निस्कौँ कि ?’

नसोचेकै प्रश्न मेरो मुखबाट फुत्त निस्कियो |

‘ओके |’

उसले सहमति जनाउँदै उठी |

‘अनि तिम्रो कुरा ?’

मैले सोधेँ |

‘केही होइन |’

मलाई ग्लानि महसुस भयो | केही नबोली हिँड्यौ | मौनताको धागोले बाँधिएका हामी हिडीरह्यौ | बाटो एकदमै शून्य लाग्यो तर पनि त्यही शून्यतामा हिडीरह्यौ | ऊ सँगै अनामनगर सम्म गएँ |

‘अघि के भन्न खोजेको भन न प्लिज |’

मैले फेरी आग्रह गरेँ |

‘केही होइन यतिकै भनेको |

‘यतिकै त पक्कै भनेको होइनौ |’

मैले भने |

‘हो के |’

मुस्कुराउदै भनी |

‘उसो भय म जान्छु है |’

हिँडिरहेका पाइला रोक्दै मैले भने |

‘हुन्छ |’

उसले केही प्रतिक्रिया नजनाई भनी | म केही पाइला पछि फर्किएँ |

‘सुन न |’

जाँदाजाँदै उसले भनी-

‘अँ भन |’

मैले भनेँ |

‘तिमीले चाह्यौ भने २०२२ को वर्ल्ड कप सँगै हेर्न पनि सकिन्छ है |’

 

 

Leave a Comment

Subscribe to my newsletters

Listen my Podcast