अनुजा -(कथा)

अनुजा -(कथा)

पुस महिनाको एक साँझ, चिसो एकदमै बढिरहेको थियो | सूर्य आफ्नो गन्तव्यको नजिकै थियो सायद त्यसैले होला घामका पहेँला रेसाहरू पूर्वतिर सोझिएका थिए | म ती रेसाहरूलाई आफ्नो आँखामा कैद गर्दै नजिक जाँदै थिएँ भने सूर्य म भन्दा पर पर भाग्दै थियो | अन्ततः सूर्य थानकोटको डाँडाबाट विलीन भयो म भने नयाँ बानेश्वर पुगेँ |

बाटोभरि मान्छेको भिड | सडकभरि गाडीको भिड | मान्छे- मान्छे सँग | गाडी- गाडी सँग अथवा भनौँ मान्छे र गाडी पनि एक-अर्कासँग ठोकिन्छन् कि झैँ गरेर सबै दौडिरहेका थिए आ-आफ्नो गन्तव्यमा | गाडीको आवाज एकदमै गुन्जाइमान थियो | आ-आफ्नो दिशातिर ब्यग्रल्ती दौडिरहेका ती गाडी देख्दा कुनै रेसिंग कम्पिटिसन हुँदै छ जस्तो लाग्थ्यो किनकि त्यो जाम, ट्राफिकको सिटीको आवाज अनि हातको इसाराबाट कुद्ने ती गाडीहरू साँच्चै कम्पिटिसनमा भाग लिएको जस्तो प्रतीत हुन्थ्यो | र त्यसरी नै एक-अर्कालाई अघि-पछि पार्दै दौडिरहेका गाडीहरू हेर्दा रमाइलो लाग्थ्यो |

सडक वारि पारि मान्छेको भिड पनि उस्तै थियो जस्तो सडकमा गाडीहरूको छ | मानौँ त्यो कम्पिटिसन हेर्न आएका दर्शकहरू | हैन क्यारे ! यी मान्छेहरू पनि म जस्तै आफ्नो गन्तव्यतिर पाइला फर्काउँदै गरेका हुन सक्छन् | हैन भने कतै … छ्या ! म पनि के सोचिरहेको हुँला ?

नयाँ बानेश्वर चोकको एक मात्र जेब्रा क्रस, जसलाई कुल्चन रेडी भएर बसेका म जस्तै कयौँ मान्छेको भिड सडक वारि-पारि टन्न थियो | बिचमा गाडीहरू दौडिरहेका थिए | वारि-पारि जाने मान्छेको भिड एकदमै बाक्लियो | ट्राफिकको सिटीले गाडी रोकिए र मान्छे दौडिन लागे | म पनि सोही भिडभित्र पसेँ र पारि जाँदै थिएँ एक्कासि पारि बाट आउँदै गरेकी एउटी केटी सँग ठोक्किन पुगेँ |

‘आँखा छैनन् ?’ उसले झर्किँदै भनी |

‘सरि …’ म पछाडि फर्किएर सरि भन्दै गर्दा मेरो बोली एक्कासि रोकियो | आँखा भने उसको अनुहारमा ठोक्किए | मन …

‘तपाईँ ?’ उसले अचम्मित हुँदै सोधी |

‘तिमी ?’ मैले फिस्स मुस्कुराउँदै भनेँ | मन अनौठो किसिमले शान्त भयो |

‘बिच बाटोमै के…’ कोही मान्छे हामी रोकिएको देखेर गाली गर्दै हामी सँगै ठोकिँदै वारि पारि गरिरहेका थिए | हामी भने बिच सडकमै एक अर्कालाई हेरेर उभिरहेका थियौँ |

‘मैले तपाईँलाई फेसबुकमा म्यासेज पठाएकी छु रिप्लाई गर्नु है, अहिले अलि हतार छ जान्छु |’

यति भनेर उ सरासर अगाडी बढी र शंखमूल जाने बाटोतिर विलीन भई, म भने उ गएतिर हेरेर उभिरहें | ट्राफिकको सिटीको आवाजले झस्किएँ | फिस्स ओठमा हाँसो झुन्ड्याएर म पनि आफ्नो बाटो तेर्सिएँ |

यो कस्तो संयोग ? कम्तीमा केही समय अगाडी नै म पारि पुगेको भए अथवा उ नै वारि आइपुगेको भए एकै छिन कुरा हुन् पाउँथ्यो | धत् ! एक अर्कालाई चिन्नु बाहेक अरू केही भएन यहाँ | फेरी सोचेँ, हाम्रो भेट हुनु नै थियो र त यहाँ भयो | कतै म नै अगाडी पुगेको भए अथवा उ नै अगाडी आइपुगेको भए उ सँग भेट यसरी नहुन पनि सक्थ्यो | यो भेट बिलकुल संयोग थियो र त्यसरी ठोक्किनु अर्को संयोग |

मनभरिका उदासी किरणहरू एक्कासि अस्ताए | भर्खरै अस्ताएको घाम जस्तै | मन अनौठो किसिमले शान्त र शिथिल भयो | गाडीहरूको आवाज पनि मिठो धुन लाग्न थाल्यो | मान्छेहरूको त्यो भिडमा कतै कसै सँग ठोकिदापनि उसको शरीर सँग ठोकिएको आनन्दाता मनभरि छाइरह्यो |

***

नेपाल यातायातको महिला आरक्षण सिट, जहाँ अपरिचित केटीको परिचित अनुहार ढोकाबाट उक्लन बित्तिकै देखियो | कलेज ड्रेसमा सजिएकी ऊसँग लगातार ४ पटक मुलाकात भैसकेको थिएँ | सायद त्यो भन्दा धेरै पनि हुनसक्छ जो मलाई याद भएन तर दिनहुँ देखिरहँदा उसलाई चिन्न गाह्रो भएन | सधैँ उभिरहेकी हुन्थी म सँगै, आज भने बस्न पाएकी रहिछे | सायद आज अलि लामो गाडी भएर हुनुपर्छ | म गाडी माथि उक्लिएँ |

‘दाइ पछाडि जानुहोस्, सिट खालि छ |’ कन्डक्टरको अनुरोध स्वीकार गरेर म पछाडि गएर बसेँ | हिजोका दिनहरूमा बस्न नपाएर रिस उठ्थ्यो आज भने बस्न पाएर रिस उठ्यो | सोचेँ, सानो गाडी नै आउनुपर्ने नि |

अर्को दिन त्यसरी नै भेट भयो | संयोग भनौँ या के, उ बसेकै सिट खालि थियो | महिला आरक्षण सिट हो कि भनेर माथि हेरेँ, होइन रहेछ भन्दै उसको छेवैमा बसेँ | कानमा हेडसेट झुन्ड्याएर गीत सुन्दै सफर गर्नुको पनि मज्जा छुट्टै लाग्थ्यो तर आज गीत अफ गरेँ अनि हेडसेट भने झुन्ड्याईरहें | कतै उसले बोलाउली मैले नसुनुँला भनेर |

कोटेश्वरमा धेरै लामो जामा पर्‍यो हुन त हिजोतिर भने नपरेको होइन | उसलाई हतार भएको हुनुपर्छ कलेज पुग्न | उ आत्तिएको महसुस मैले गरिरहेको थिएँ |

‘कति बज्यो ?’ उसले म तिर हेर्दै सोधी |

‘११ बज्न लाग्यो |’ मैले घडी हेरेर भनेँ |

‘ठ्याक्कै कति मिनेट भयो ?’ उसलाई मेरो उत्तर चित्त बुझेनछ |

‘दश बाउन्न भयो |’ अहिले भने हातमा भएको मोबाइलको स्क्रिनमा चलिरहेको समय हेरेर जवाफ दिएँ |

हुन त मलाइ पनि ढिला भैसकेको थियो | क्लास सुरु भैसकेको थियो १०:४० मै तर आत्तिएको भने पटक्कै थिएन | किनकि उ म सँगै थिई | यस्तो लाग्थ्यो आज जाम नखुलोस् |

‘कुन कलेज ?’ उसले लगाएको कोटको अगाडी CCRC लेखेको देख्दा देख्दै पनि मैले सोधिहालेँ पछि ग्लानि भयो |

‘CCRC’ उसले कुनै प्रतिक्रिया नजनाई उत्तर दिई |

‘ए, अनि कति मा पढ्दै ? म उ सँग बोल्न चाहन्थेँ | उ सँग नजिकिन चाहन्थेँ | त्यसैले उ सँग बोल्ने बहाना खोज्दै प्रश्न सोच्दै बोल्न खोजिरहेको थिएँ |

‘११ मा |’ उसले सहज जवाफ दिई | न कुनै प्रतिप्रश्न | न कुनै अवरोध | बस मेरै प्रश्नको जवाफ मात्र फर्काइरहेकी थिई |

उसलाई ढिला भएको छ भन्ने उसको व्यवहारले देखाइरहेको थियो त्यसैले लाग्यो अब पनि म केही बोलेँ भने उसलाई रिस उठ्ने छ | उ म सँग रिसाउने छे | त्यसैले म चुपचाप रहेँ | कन्डक्टर भाँडा उठाउदैं आयो उसले पैसा सँगै आइडी पनि दिई त्यसै बखत मैले उसको नाम थाहा पाएँ अनुजा भण्डारी |

त्यसरी नै प्रत्येक दिन हाम्रो भेट नेपाल यातायात मै हुन थाल्यो | संयोग पनि कस्तो भने म थापागाउँमा गाडी चढ्ने उ चाहिँ बिजुली बजार | पछि पछि म पनि अलि अगाडी नै आएर बिजुली बजार जान्थेँ | उ सँगै गाडी चढ्न थालेँ | उसको र मेरो समय एकै भयो | कहिले सिट पाए उ बस्थी | मेरो ब्याग भने जबर्जस्ति बोकी दिन्थी | कहिले सिट नपाउँदा दुवै जना उभिएर एक-अर्का सँग टाँसिएर जान्थ्यौ | यसैमा आनन्दित हुन्थ्यौ | दिनहरू ढल्दै गए | यति छोटो समयमा उ म सँग एकदमै नजिक भइसकेकी थिई | यतिसम्म कि स्टेसनमा गाडी पर्खने भन्दा मलाई पर्खेर बसेकी हुन्थी | कहिलेकाहीँ थापागाउँ सम्म आइपुगेकी हुन्थी |

‘मोबाइल बोक्दिनौ ?’ यसरी एक दिन गाडी पर्खिरहेको बेला सोधेँ |

‘कलेज मा लिन दिँदैन, बोकेर के गर्नु ?’ उसले असहज रूपमा सहज जवाफ दिई | मैले उसको कुरा महसुस गर्न सक्थेँ किनकि म पनि ती दिनहरू पार गरेर आएको हुँ |

‘फेसबुक चलाउँदिनौ ?’ नम्बर माग्ने आइडिया असफल भएपछि फेसबुकको सहारा लिएँ तर त्यो पनि एक शब्दमै असफल भयो |

‘किन नि ?’ अहिलेको दुनियाँमा फेसबुक चलाउँदिन भन्ने मान्छेहरू लाई सोधिने प्रश्न मैले उ तिर सोझ्याएँ |

‘यतिकै, मन नै लाग्दैन |’ मन नलागी नलागी उसले जवाफ दिई |

‘अनि कहाँ लाग्छ नि मन ?’ सक्दो मुस्कुराउँदै सोधेँ |

‘कतै लाग्दैन |’ उसले पनि मुस्कुराउँदै भनी |

गाडी आयो | सधैझै भरिभराउ थियो गाडी |

‘यस्तो हालतमा यात्रा गर्दा कहिलेकहीँ त बाइक किनौँ झैँ लाग्छ |’ मैले भनेँ |

‘उसो भए त हाम्रो यात्रा टुङ्गिने भयो |’ उसले म तिर हेर्दै भनी |

‘तिमी सँग यात्रा गर्छु र त, बाइकभन्दा नेपाल यातायात नै ठिक छ भनेर रोकिन्छु |’ उसको दुःखी हुनै लागेको चेहरालाई खुसी बनाउन प्रयास गर्छु |

‘हैन किन्नु, मेरो लागि आफ्नो खुसी किन बरबाद गर्नुहुन्छ ?’ उसले दुखित स्वरमा भनी |

‘अहिले त म यसैमा खुसी छु |’ मैले सक्दो खुसी बनाउन प्रयास गरेँ |

‘है …?’

उसलाई यो कुराले पिरोलेछ सायद | हामी मौन रह्यौँ | यस्तो लाग्यो सबैतिर सुनसान छ | हामी दुवै जना असीम अविश्वासको दायरा भित्र उभिएका छौँ | एक-अर्काको सम्मोहनप्रति लाचार भइरहेका छौँ |

मेरो चौथो सेमी स्टार को जाँच आउन लागेको थियो | कलेज नलाग्ने भएपछि म त्यो रुटमा कम्तीमा १ महिना हिँड्नुपर्ने थिएन | त्यसैले उसलाई यो सब भनौँला भनेको दिन उ अनुपस्थित भई | सायद उ उपस्थित हुँदा म अनुपस्थित भएँ | बिचमा केही दिन पहिलेकै समयमा म त्यहाँ पुग्थेँ तर उसलाई कहिले देखिन | उ सँग सम्पर्कमा आउने त्यो बाहेक कुनै बाटो म सँग थिएन | सोच्थेँ, उसले पनि मलाई पर्खी होला जसरी पहिले पर्खन्थी | अनि निराश हुँदै नेपाल यातायात भित्रको  भिडभाडमा असहज मान्दै कलेज पुग्दी हो |

***

घर पुगेर हतार हतार ल्यापटप अन गरेर फेसबुक खोलेँ | अनि सम्झिएँ उसले त फेसबुक नै चलाउँदिन अनि कसरी मलाई म्यासेज गरी ? उसको नाम सर्च गरेँ भेटिएन | उ देखि रिस उठ्यो | लाग्यो, झुट बोलेर गई | म्यासेज रिक्वेस्ट मा क्लिक गरेँ मेरा आँखा सुरुमै एउटा म्यासेज मा परे जहाँ ‘सुसी’ बाट म्यासेज आएको रहेछ | म्यासेज खोलेँ र पढ्न थालेँ –

‘हेलो, कहाँ हराउनु भयो ? मैले तपाइलाई एक हप्तासम्म सधैँ पर्खिएँ तर तपाईँ नआउँदा एक्लै बस चढेर जानु सिबाय विकल्प केही थिएन | त्यसरी पर्खँदा सधैँ क्लास मा लेट पुग्थेँ र गाली खाइन्थ्यो अनि पर्खन पनि छोडेँ |’

‘प्लिज म्यासेज रिप्लाई त गर्नुहोस् |’

‘बाइक किन्नु भयो ?’

‘हेलो’

यतिका म्यासेज आएको रहेछ मैले कैले पनि रिक्वेस्ट हेर्ने चेष्टा गरिनँ | सम्झँदा ग्लानि बोध भएर आयो | उसको प्रोफाइल खोलेँ फ्रेन्ड रिक्वेस्ट पनि आएको रहेछ म नचिनेको मान्छेको रिक्वेस्ट एसेप्ट गर्दैनथेँ र त्यसको असर उसलाई पर्‍यो सायद | उसले आफ्नै नामबाट रिक्वेस्ट पाठको भए यो सब हुने थिएन आखिर किन उसले आफ्नो नाम र फोटो देखाउन नचाहेकी हो ? अचम्मित भएँ |

‘हाइ अनु, सरि फर इभ्रीथिंग | मेरो एक्जाम चलिरहेको छ, यो कुरा तिमीलाई भन्ने कुनै ठाउँ भेटिन जसको कारण तिमीलाई दुःखी बनाएँ | म पनि तिमीसँग भेट हुन्छ कि भनेर थापागाउँ, बिजुली बजार नपुगेको होइन तर तिमीलाई भेटाउन सकिनँ | अनि तिम्रो नाम फेसबुक मा सर्च पनि गरेँ तर तिमीलाई भेटिन | अर्कै नाम र फोटो राखेर रिक्वेस्ट पठाएकी रहेछौ अपरिचित लागेर एसेप्ट गरिनँ | सरि अगेन |’ म्यासेज टाइप गरेर पठाइदिए |

‘इट्स ओके |’ आज भेट भयो धेरै खुसी लाग्यो |’ उसले स्माइल इमो सहित म्यासेज पठाई |

‘मलाई पनि धेरै खुसी लाग्यो | मलाई त अब हाम्रो भेट नेपाल यातायातमै हुन्छ होला भन्ने लागेको थियो तर आज यसरी भयो मन हलुङ्गो भएको छ |’ मैले खुसीको भाव व्यक्त गरेँ तर उसलाई कस्तो फिल भइरहेको छ भन्ने कुरा जान्न असफल रहेँ |

‘ए…अनि एक्जाम कैले सकिन्छ ?’ उसले सोधी |

‘भोलि अन्तिम छ |’ मैले जवाफ दिएँ |

‘ल अहिले पढ्नुहोस् अनि भोलि राम्रो गर्नुस् अनि भेट्ला हुन्न ?’

‘ओके स्यौर | कति बजे ? कहाँ ?’ मैले भनेँ |

‘तपाइको एक्जाम कति बजे सकिन्छ ?’ उसले सोधी |

‘३ बजे | म साढे तिन बजे बालकुमारी आइपुग्छु |’ मैले भने |

‘ओके तपाईँ ४ बजे तिर मेरो कलेज अगाडीको क्याफेमा पर्खनु म आउँछु |’

‘ओके स्योर |’

‘अल दी वेस्ट |’ उसको शुभकामना प्रिय लाग्यो यति सम्म कि अब त नपढेरै पनि एक्जाम राम्रो हुन्छ जस्तो |

‘थ्यांक यु |’ हार्ट इमो सहित मैले रिप्लाई दिएँ |

उताबाट स्माइलिङ इमो मात्र रिप्लाई आयो र अफलाइन भयो |

केही बिहान यस्ता हुन्छन् जुन बिहानीमा हिँड्दा आफ्ना पाइलाका पदचाप पनि प्रेमिल जोडीको ढुकढुकी जस्तो लाग्छन् | सायद ती पाइलाहरू उभ्याउने सडकलाई पनि लाग्न सक्छ कि यी केवल पाइला मात्र होइनन यी त प्रेम जोडी पनि हुन् जो एक-अर्का बिना चल्न सक्दैनन् | जीवनका केही साँघुरा गल्लीहरुपनि निराशता सँग पार लाग्छन् |

हिउँदका यी दिनहरूमा उत्तरतिर बाट बगेर आउने सिरसिरे चिसो हिमाली हावामा चौर अनि अग्ला अग्ला रुखहरू सिर्सिराइरहन्थे  र साथमा शिरीषका नाङ्गा हाँगाहरुपनि कांपीरहन्थे | निलो आकाशको छातीमा सूर्य हाँसिरहेको हुन्थ्यो | यता उता २/४ चिलहरू वेग मारिरहेका हुन्थे | म र अनुजा भने एक-अर्का प्रति सम्मोहित भएर हिँडिरहेका थियौँ | सडकमा गुडिरहेका गाडीहरूको ध्वनि पनि उसको सम्मोहनले मिठो लाग्न थाल्यो | सिरिरि चलिरहेको बतासले उसको कपाललाई घरी घरी जिस्काईरहन्थ्यो र उ भने आफ्ना लामा लामा औलाहरूले आफ्ना केशहरू पछाडि फर्काइरहन्थी |

फेरी हाम्रो पहिलेजस्तै नेपाल यातायातको यात्रा सुरु भयो | उ प्रति मेरो लगाव पनि बढ्दै गयो | सधैजसो भइरहने मुलाकात अनि आ-आफ्ना मनपसंद कुराहरू साटासाटले एक-अर्कालाई नजिक बनाउन ठुलो सहयोग गरिरहेको थियो |

माघ महिनाको अन्तिम तीरको एक साँझ, म चौरमा बसेर अनुजलाई पर्खिरहेको थिएँ | चिसो कम हुँदै गएको आभास भइरहेको थियो | शिरीषका रुखहरूले आफ्ना हाँगाभरि हरिया पातहरू जोड्दै थिए | आकाश आफ्नो घुम्टो लुकाएर सफा र सुन्दर देखिएको थियो | मेरा आँखा एक्कासि पर बाट आउँदै गरेको एउटी स्त्रीको पृष्टभागमा गएर अड्कियो | मलाई ठम्याउन गाह्रो भएन उ अरू कोही नभएर अनुजा थिई | सधैँ कलेज ड्रेसमा देखिएकी उ आज फरक पहिरनका साथ मेरो नजिक थिई | उ आज असाध्यै राम्री देखिएकी थिई, यस्तो भनौँ मलाई त्यस्ती लाग्थी त्यति नै राम्री सायद जति कल्पना गर्न सकिन्छ | यसको मतलब अघिल्ला दिनहरूमा नराम्री भने पक्कै थिइन | उसले रातो सिम्रिक रङ्ग को कुर्ता र बाहिर कफी कलर को सुइटर अनि हरियो रङ्गको  सुरुवाल र हरियो रङ्गको सल ओढेकी थिई | बाक्ला, काला केशहरू काँधसम्म छुने गरी छाँटिएका थिए | उ मेरो नजिकै आइ | मेरा आँखा भने उ बाहेक अनेत्र कतै पनि जान मानेनन् | उ आएर मेरो छेवैमा बसी | मन अनौठो किसिमले धड्किरहेको थियो | बोल्नलाई शब्दहरू एकाएक हराएको आभास भयो | हामी एक-अर्कालाई हेर्दै चुपचाप बसिरहेका थियौँ मानौँ त्यसरी हामी एक-अर्कालाई जाँचिरहेका छौँ | तौलिरहेका छौँ | मौनता आफ्नो समग्र सघनताका साथ आएर हाम्रो बिचमा फ्रिज हुन्थ्यो | सबै सबै कुराहरू बडो अबास्ताबिक लाग्थे | कहाँसम्म भने हामीलाई आफ्नै उपस्थिति पनि भ्रमात्मक लाग्यो |

बेलाबेलामा सिरसिर हावा आएर उसको सुन्दर केसहरूसँग जिस्किर जान्थ्यो | उ भने  सम्मोहितझैँ पारि पट्टि आकासिएका शिरीषका रुखपंतिहरु बिच हराइरहेकी थिई | अचानक म तिर फर्केर स्वप्निल आवाजमा उसले सोधी-

‘यो बाक्लिँदै गइरहेको साँझ, यो चौर अनि यी अग्ला अग्ला रुखहरू तल फैलिएको निर्बाध एकान्त तपाइलाई कस्तो लाग्छ ?’

‘यस्तो लाग्छ, म यो मौनताको सङ्गीतसँग एका लय भएको छु र यी सब सँग एकीकृत हुदैछु |’ मैले भनेँ |

यस्तै यस्तै जीवन, भोगाई, देखाई, हेराइ, पिडा आदि इत्यादि कुराहरू गरेर करिब १ घण्टा बितेको पत्तै भएन | सूर्यले डाँडा काटिसकेको थियो | पश्चिमतिर देखिने त्यो पहेँलो क्षितिज हेर्न लाइक भएको थियो | हामी त्यहाँबाट उठेर आ-आफ्नो गन्तव्य तिर फर्कियौँ छुट्टिँदै गर्दा उसले भनी-

‘सुन्नु त ?..’

‘अ भन |’ मैले भनेँ |

‘बाइकको लागि अपुग पैसा म थप्छु नि है ?’

Leave a Comment

Subscribe to my newsletters

Listen my Podcast