कविता बन्दै बनेन (कविता)

कविता बन्दै बनेन (कविता)

बाबाले बारीमा मकै उमारेझैँ
उम्रिए शब्दहरू मेरो शब्दकोशमा
र थुप्रिए मेरो मस्तिष्कको भकारीमा
घारमा माहुरी भुनभुनाएझै
भुनाभुनाए शब्दहरू मेरो मस्तिष्कमा
राम्रा राम्रा फुलहरू छानेर
दिदीले शप्तरंगी माला उनेझैँ
उनिरहेँ मैले राम्रा शब्दहरूको माला
तर अहँ
कविताको माला उनिँदै उनिएन

जब सूर्य उदाएको पूर्व हेर्छु
लाग्छ
मेरो कबितापनि उदाउदैछ सूर्यसँगै
र खरखर सार्नेछु मेरो मस्तिष्कको डायिरीमा
बिस्तारै नजिकिन्छ सूर्य
तताइदिन्छ शब्दहरू थुप्रिएको मेरो मस्तिष्क
र, रित्ताइदिन्छ मेरा सारा शब्दहरू
बेहोसिन्छु म
होसमा आउँदा
सूर्य पश्चिमको पहेँलो डाँडामा पुगेछ
लाग्यो
नउदाएरै अस्ताए मेरा कविताहरू |

ओ चन्द्रमा !
तिमी आयौ ?
पक्कै बोकेर ल्यायौ होला तिमीले त कविता
खै देखाउन म सार्छु मेरो मस्तिष्कमा
तर अहँ,
देखाउनुको साटो लुक्यौ आफै बादलभित्र
र लुकाइदियौ मेरा कविताहरू |

राति सपनीमापनि शब्दहरूसँगै खेलिरहेँ
कहिले रस्हो कहिले दिर्घ, लयलाई झेलिरहेँ
एक्कासि बने झै लाग्यो कविता
र लेख्न बसेँ,
भरिए ४/५ ओटा पानाहरू
र, बने भिन्न प्यारेग्राफहरु
तर अहँ
कविता बन्दै बनेन |

Leave a Comment

Subscribe to my newsletters

Listen my Podcast