देश विकासमा सूचना प्रविधि

देश विकासमा सूचना प्रविधि

Summary:

प्रविधिले मानिसको बाँच्ने, सोच्ने, सिक्ने, खेल्ने, बोल्ने, हिँडिने, खाने, कमाउने, मनोरञ्जन गर्ने सबै तरिकालाई फेर्दै छ । कृषि क्रान्ति र औद्योगिक क्रान्तिले भन्दा पनि व्यापक मात्रामा सूचना क्रान्तिले मानव सभ्यताको विकासमा प्रभाव पार्दै छ ।

कुनै पनि देशको समग्र विकासका लागि सूचना तथा प्रविधिले अहम् भूमिका निर्वाह गरेको हुन्छ । सूचना तथा प्रविधिको समुचित विकास र प्रयोगले विश्वका धेरै देशहरू आज आफ्नो प्राकृतिक र मानवीय स्रोतहरूको अधिकतम उपयोगद्वारा जनताको जीवनस्तर माथि उकास्दै उन्नतिको शिखरमा पुग्न सफल भएका छन् । यति मात्र होइन मानिसको भौतिक सुविधामा वृद्धि हुनाका साथै जीवनशैली परिवर्तन हुनुमा समेत सूचना तथा प्रविधिको देन महत्त्वपूर्ण रहेको छ ।

यद्यपि प्रविधिको चमत्कारिक विकासले एकातिर विश्वमा मानव जीवनशैलीमा नै कायापलट भएको छ भने अर्कोतिर भोक, रोग, गरिबी र पछौटेपन जस्ता विसङ्गति र अकाल मृत्युजस्तो त्रासदी बेहोर्नुपरेको अवस्था पनि हाम्रा सामु विद्यमान छन् । तथापि खाद्यान्न, लत्ताकपडा, आवास, शिक्षा एवं स्वास्थ्य जस्ता नेपाली जनताका आधारभूत मानवीय आवश्यकता पूरा गर्न प्रविधियुक्त सीप कौशल र जनशक्तिको भूमिका भने महत्त्वपूर्ण रहेको हुन्छ ।

नयाँ संविधान निर्माणसँगै नयाँ नेपाल निर्माणको प्रसड्ढ उठिरहेका बेला समयको माग र आवश्यकतासँगै सूचना तथा प्रविधिको पनि विकास गरी यसको समुचित प्रयोग गर्न सके नेपाल र नेपालीको जीवनस्तर उकास्ने कार्यमा महत्त्वपूर्ण टेवा पुग्नेछ ।


प्रविधिले मानिसको बाँच्ने, सोच्ने, सिक्ने, खेल्ने, बोल्ने, हिँडिने, खाने, कमाउने, मनोरञ्जन गर्ने सबै तरिकालाई फेर्दै छ । कृषि क्रान्ति र औद्योगिक क्रान्तिले भन्दा पनि व्यापक मात्रामा सूचना क्रान्तिले मानव सभ्यताको विकासमा प्रभाव पार्दै छ । सूचना र ज्ञानलाई सङ्कलन, प्रशोधन र प्रसारण गर्न यति छिटो, यति सजिलो, यति व्यापक र यति रमाइलो यसअघि कहिल्यै भएको थिएन । ज्ञानको हस्तान्तरण वा प्रसारणमा अब समय र दुरीको कुनै व्यवधान बाकी छैन । वास्तवमा मानव जीवनका आर्थिक, सामाजिक, राजनीतिक लगायत सबै क्रियाकलापलाई ज्ञानमा आधारित बनाउँदै सम्पूर्ण समाजलाई नै ज्ञान वान बनाउने क्रान्तिको थालनी सूचना प्रविधि हो । यसर्थ नेपालजस्तो विकासशील राष्ट्रमा सूचना प्रविधिको अत्यधिक खाँचो देखिएको छ ।


वर्तमान युग सूचना तथा प्रविधिको नवीनतम आविष्कार, अभ्यास र अवलम्बनको युग हो । मानव जीवनलाई सहज कृत र गुणस्तरीय बनाउनका लागि शिक्षा, यातायात, बिधुत, सञ्चार जस्ता विविध क्षेत्रमा नयाँ नयाँ खालका प्रविधिको आविष्कार तथा प्रयोग भइरहेका छन् । जस्तै: यातायातका क्षेत्रमा हिजो घोडा, गाडा तथा कोइला रेलमा निर्भर रहनु पर्ने युग आजको विद्युतीय गतिका बुलेट ट्रेनहरूको युगमा प्रवेश गरिसकेको छ । शिक्षाका पुरातन र अवैज्ञानिक पद्धतिहरूको प्रतिस्थापन गर्दै आज दूर शिक्षा तथा पूर्ण कम्प्युटरकृत प्रविधिमा निर्भर वैज्ञानिक शिक्षा पद्धतिको विकासले शिक्षामा आम जनताको व्यापक पहुँच बढाएको छ । सञ्चारका क्षेत्रमा हिजो कटुवाल युगबाट आज सिङ्गो संसार भरकै सूचनाहरू नै विद्युतीय गतिमा सम्प्रेषित हुने सम्मको युगमा हामी आइपुगेका छौँ । सूचना प्रविधिको यो विकासले आम जनमत निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ नै, यसको अतिरिक्त आर्थिक,सामाजिक, प्रशासनिक क्षेत्रमा सूचना तथा प्रविधि नै शक्तिको रूपमा स्थापित भैसकेको छ भने जनताले सुसूचित हुन पाउने अधिकारलाई आज विश्वव्यापी मानवअधिकारकै पाटोको रूपमा स्विकारिएको छ ।

प्रविधिले मानिसको बाँच्ने, सोच्ने, सिक्ने, खेल्ने, बोल्ने, हिँडिने, खाने, कमाउने, मनोरञ्जन गर्ने सबै तरिकालाई फेर्दै छ । कृषि क्रान्ति र औद्योगिक क्रान्तिले भन्दा पनि व्यापक मात्रामा सूचना क्रान्तिले मानव सभ्यताको विकासमा प्रभाव पार्दै छ ।


सूचना तथा सञ्चार प्रविधिको उपयोग नेपालजस्तो विकासशील मुलुकमा मुख्य रूपमा सूचनाको ओसारपसारको लागि भएको देखिन्छ । उदाहरणका लागि नेटवर्किङ गरेर वा इन्टरनेटको उपयोग गरेर शिक्षा, स्वास्थ्य, कृषि, मनोरञ्जन, उद्योग, वाणिज्य, पर्यटन आदि महत्त्वपूर्ण विषयका ज्ञान र सूचना सञ्चार वा प्रसार गरेर, प्रशोधन तथा सङ्कलन गरेर देश र समाजको आर्थिक, सामाजिक, संस्कृति विकासमा महत्त्वपूर्ण काम हुन थालेका छन् । अधिकांश देशले सूचना प्रविधिको यही पक्ष वा भूमिकाको बढी उपयोग गरिरहेका छन् । यही पक्षलाई पर्याप्त मात्रामा उपयोग गर्न सके पनि देशको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, प्रशासन र समाजमा धेरै उल्लेखनीय परिवर्तन ल्याउन सकिन्छ ।


सूचना तथा सञ्चार प्रविधिले विपन्न समुदाय र राष्ट्रको सामु व्यापक अवसरहरू प्रदान गरेको छ । विश्वको सूचना र ज्ञानको भण्डारसमक्ष पहुँच पुर्‍याएको छ । सरकारको दक्षता, व्यापारीहरूको नाफा, शिक्षार्थीहरूको ज्ञान, व्यावसायिकहरूको कारोबार, किसान र साना उद्यमीहरूको बजार बढाउने अवसर दिएको छ । गैरसरकारी संस्थाहरूलाई स्थानीय आवाज विश्व सामु पुर्‍याउन सघाएको छ । दुर्गम तथा ग्रामीण क्षेत्रमा बस्ने विपन्न समुदायहरूलाई विकास र अर्थतन्त्रको मूलधारमा ल्याउन मदत गर्दै छ । तर यो नयाँ प्रविधिले सूचना र ज्ञानसमक्ष पहुँच भएका र नभएकाहरूबिच स्वास्थ्य, आर्थिक अवस्थालगायत धेरै कुरामा भेदभाव बढाउँदै पनि छ । त्यसैले सूचना र सञ्चार प्रविधिमा पहुँच र त्यो प्रविधिलाई स्थानीय आवश्यकता अनुरूप ढाल्ने काम अब सोखको कुरा नभएर आवश्यकता बनिसकेको छ ।


अतः परम्परागत सार्वजनिक सेवा प्रवाहका स्वरूप तथा चरित्रलाई आधारभूत परिवर्तन गर्दै आधुनिकीकरण गर्ने प्रधान माध्यम नै सूचना तथा प्रविधि हो । सङ्गृहीत सूचनाहरूको भौतिक नोक्सानी वा प्राविधिक क्षयबाट दीर्घकालीन सुरक्षा, चुनौती, व्यक्तिगत /संस्थागत/राष्ट्रिय रणनीतिहरूको गोपनीयता माथि खतरा जस्ता सूचना प्रविधिको विवेकशील उपयोग गर्न नसक्दा हुनसक्ने केही दुरुपयोगको खतरा तथा कमजोरीका बाबजुद सार्वजनिक सेवा क्षेत्रहरूलाई प्रविधिसँगै एकाकार गर्दै अघि बढ्नुको विकल्प छैन । सार्वजनिक सेवाको प्रवाहलाई समयानुकूल परिष्कार एवं प्रविधिमा आधारित तुल्याई थप सरल,सहज र गुणस्तरीयता सहित आधुनिकता प्रदान गर्दै जानु आजका राज्यहरूको प्रमुख कर्तव्य र चुनौती बनेका छन् । मानव विकासको लागि सूचना तथा सञ्चार प्रविधिको उपयोगिता र प्रभाव स्पष्ट हुँदाहुँदै पनि यो कुरा बिर्सनु हुँदैन कि कुनै पनि प्रविधिको मानव समाजका सबै अङ्गले समान रूपमा लाभ पाउन सक्दैनन् । केही अङ्ग पाखा पर्छन् ।

प्रविधि स्वयं कुनै समस्याको समाधान होइन । त्यसलाई कसरी र कसको हितमा उपयोग गरिन्छ भन्ने कुरा निर्धारण गर्ने त मानिसले सिर्जना गरेको राजनीतिक, आर्थिक तथा सामाजिक व्यवस्थाले नै हो । यसैले सूचना प्रविधिबाट लाभान्वित हुनका लागि पनि मानव क्षमताको विकासका साथै अनुकूल राजनीतिक, आर्थिक तथा सामाजिक परिस्थितिको आवश्यकता पर्छ । तसर्थ समयअनुकुल सूचना प्रविधि को सही उपयोग गर्दै अगाडी बढ्ने हो भने नेपाल र नेपालीको मुहार फेर्न धेरै समय लाग्ने छैन । धन्यवाद ।


यो आर्टिकल सल्यानी युवा संजालले २०७४ असोज मा प्रकाशन गरेको पुस्तक आरम्भ मा प्रकाशित छ |

Leave a Comment