सुमन खड्काका दुई कविता

सुमन खड्काका दुई कविता

सुन्नलाई तलको प्ले बटनमा क्लिक गर्नुहोस्

भर्चुअल प्रेम

उनी,
‘गुड मर्निंङ’ भन्दै
बिहानै उठाइदिन्छिन्
टेबलमाथि निदाएको मेरो मोबाइल
उ निद्रामै कराउँदै मेरो कानमा पस्छ
म जुरुक्क उठ्छु ।

कहिलेकाहीँ उनी चिया बनाउँछिन्
कहिलेकाहीँ म कफी बनाउँछु
अनि कहिलेकाहीँ दुवै मिलेर
ब्रेकफास्ट तयार पार्छौँ
र राख्छौँ
म्यासेन्जरको टेबलमा ।

एक साइडमा म र अर्को साइडमा उनी
बसेर सुरु गर्छौँ ब्रेकफास्ट
जहाँ
कहिले चिनी बढी भएको कुरा हुन्छ त
कहिले चिनी नपुगेको ।

तर,
कहिलेकाहीँ ठिक्क हुँदा
दुबै जना मक्ख पर्दै
घण्टौँ त्यहीँ बसेर गफ गर्छौँ
जहाँ
उनको र मेरो सर्वाधिकार छ ।

त्यसरी नै उनी
खाजा खाना बनाई वरी
खान बोलाउँछिन्
म आज्ञाकारी हुँदै
सधैँ म्यासेन्जरको कुर्चीमा बस्छु
उनी टेबलमा खाना राख्छिन्
अनि दुवैले
एक–अर्कालाई हेर्दै
खाना खान्छौँ ।

त्यसरी
उनको अगाडि म
र मेरो अगाडि उनी हुँदा
कहिले टाढा भएनौँ
तर,
म्यासेन्जरको कुर्चीबाट उठेपछि
एक–अर्कालाई नदेख्ने गरी टाढा पुगिसकेका हुन्छौँ ।

कहिले काहीँ
उनले म्यासेज टाइप गरिरहँदा
हिँडिरहने ती तीनवटा थोप्लाहरूमा
म उनका पाइलाहरू देख्छु
जो दौडिरहेका हुन्छन् मलाई भेट्न
दूरदेखी दूरसम्म
सायद
उनी पनि देख्छिन् होला
उनलाई भेट्न दौडिएका मेरा पाइलाहरू
तर खै !
ती पाइलाहरूले
अहिलेसम्म न उनलाई भेटे
न मलाइ ।

रात परेपछि
सहर उज्यालो बनाउने जूनलाई हेर्छु
र मन उज्यालो बनाउने उनलाई हेर्छु
केही फरक देख्दिनँ
उनी र जूनमा
जसरी जून रातमा मेरो आँखा अगाडि हुन्छ
त्यसरी नै उनी प्राय
मेरो आँखा अगाडि हुन्छिन्
तर म उनलाई छुन सक्दिंन
जसरी जूनलाई छुन सक्दिंन ।

तर पनि
एक चुम्बन तिर्खा
र एक छुवाई कौतुहलता मेटेर
एक–अर्काका तस्वीरको न्यानो अँगालोमा
निदाउने गर्छौँ
अर्को बिहानसम्म ।

झरी र प्रेम

ए झरी !
पोहोर साल
उनीसँगै रुझेको म
र म सँगै रुझेको मेरो मन,
अहिलेसम्म सुकेको छैन
सुक्दा नसुक्दै तिमी आयौ
र रुझाइदियौ
मलाइ र मेरो मनलाई ।

तिम्रो आगमनले
विक्षिप्त ती रुखका पातहरू झैँ
छिरलिएको छ मेरो मन
यादका बुँदहरूले
तिमीलाई के थाहा ?
ती पातहरूको पीडा ।
जो आउँछौ, टुटाउँछौ र जान्छौ ।

आधा उनलाई, आधा मलाई
भिजाएको त्यो छाता ओढ्दा
झन् पुरै भिज्छु कि भन्ने पिरले
आजकल छाता नबोकी हिँड्छु
तर के गर्नु?
तिमी भन्दा बढ्ता भिजाउने त
यादका बुँदहरू पो रहेछन् ।

तिम्रै झरझर सङ्गीतमा
लयबद्ध हुने उनको आवाज
मेरो कानसम्म पुग्दा
मिठो गीत बन्थ्यो
र गुन्जिन्थ्यो
मनको तह तहमा
तर,
सङ्गीत भरिदिने तिमी आयौ
आवाज दिने उनी नहुँदा
यो सङ्गीत फिक्का लागिरहेको छ ।

कसैको प्रवाह नगरी
एकोहोरो परिरहने
ए प्रिय झरी,
सिकाइदेऊ न तिमी जस्तै
मलाई पनि कसैको प्रेममा परिरहन ।

भिडियो मा हेर्नुहोस्

यो कविता सल्लेरीखबर मा प्रकाशित छ |

Leave a Comment