मनुसासँग मिलन (कथा)

मनुसासंग बिदा मागेर आए देखी मेरो मनमा छट्पटि सुरु भयो । छिनमा उ संग भएको भेटले खुसीको बहार छाउँछ त छिनमा उ म बाट किन टाढा गएकि हो भन्ने प्रश्नले घेर्न थाल्छ । रात सुनसान छ तर मेरो मनभने अनेकन प्रश्नहरुको कोलाहलले अशान्त छ । एकदमै अशान्त । कोठा अँधेरो छ तर मेरो मन उज्यालोको किरणले चम्किरहेको छ । उत्सुकताको उज्यालो । आँखा बन्द गर्छु मनुसालाई देख्छु, आँखा खोल्छु उसैलाई हराउँछु अनि देख्छु कालो निश्चलता । आँखा बन्द नै गर्छु किनकि बन्द आँखामा मनुसालाई खुल्ला रुपमा पाउँछु अनि उसैसंग रुमलिरहन्छु । १२ बजिसक्यो निद्रा लागेन । उठेर चिया बनाएँर पिउन थालेँ । दिउसो उसले बनाएर पिलाएको चियाको स्वादले गर्दा होला आफैले बनाएको चियाको स्वाद एकदमै फिक्का लाग्यो र त्यतिकै छोडिदिएँ । झ्याल बाहिर माथि आकाशमा फाल्गन शुक्लपक्षको अर्धचन्द्र थियो । मलिन र निस्तिस कुनै थकित अनुहारजस्तो । मनुसा र उसको अनुहार बारम्बार आइरहे । उ निश्चित रुपमा अशान्त थिई । ब्यतिथ थिई ।
फेरी निदाउने प्रयास गर्छु । फेरीपनि उहीं क्रिया दोहरीयो । अनि सोचेँ के उसलाई पनि मलाईजस्तै छट्पटि भइरहेको होला यतिबेला ? के उसलेपनि मेरैबारेमा सोचिरहेकि होली ? एकाएक उ संग बोल्न मन लाग्यो र मोबाइल हातमा लिएँ अनि मात्र याद आयो मैले आफ्नो नम्बर उसलाई दिएँ तर उसको नम्बर नै लिन भुलेछु । खैर केही छैन भोली त उ संग भेट हुनेछ म किन यसरी हतारिएको ? आफैलाई सम्हालेँ र सोचेँ यदि उसलाइपनि मलाइजस्तै छट्पटि भइरहेको छ र यतिबेलासम्म जागै बसेकि छ भने पक्कै मलाइ म्यासेज लेख्नेछे र पठाउनेछे ‘शुभरात्रि’ भनेर ।

मोबाईलको रिङ बज्यो । निद्रा एकाएक खल्याङबल्याङ भयो । आँखा मिच्दै मोबाईल हेरेँ शौरभले गरेको रहेछ । एकाएक मनमा आएको उत्सुकता हराएर गयो । फोन रिसिभ गरेँ ।
‘ओई सुरज, के हो पारा ? फोन आएको पनि थाहा पाउँदैनस् ? कतिखेर आउछस् तलाई कुर्दा कुर्दा हामी थाकिसक्यौँ…’
मैले हेलो भन्न नपाउँदै सारा प्रश्नहरुको थुप्रो थुपारिदियो म माथि शौरभले । उसले गरेका प्रश्नहरुकोे उत्तर दिनुभन्दा पहिले कानमा टासिएको मोबाईल तल झारेर घडि हेरेँ । एक्कासी झस्किएँ । आँखामा रहेको बाँकि निद्रा एकाएक दुर भयो, मानौ निदाइरहेको बेला कसैले चिसो पानी खन्याईदिएझैँ आभास भयो । साढे आठ बजे अफिसमा मिटिङ थियो तर घडि हेर्दा ९ बजेर १८ मिनेट गइसकेको थियो ।
‘शौरभ सुन् न, म बिरामी भएर आउँन नसक्ने भएँ यार बरु त्यस्तो केहि प¥यो भने फोन गर न है सरलाई पनि यहि कुरा भन्दे ।’
मेरो मुखबाट उसको प्रश्नको बनावटी उत्तर फुत्कियो ।
‘के भयो एक्कासी तलाई ? हिजो सम्म ठिक थिइस् त ?’
‘सायद चिसोले होला, एक्कासी भइदियो ।’
‘ल ल उसोभए रेस्ट गर् म दिउसोतिर आउँछु ।’

फोन राखिसकेपछि मेरा आँखा एक्कासी ३ मिस्डकल र १ म्यासेज लेखिएको ठाउँमा गएर रोक्किए । हतार हतार गरेर हेरेँ, अनसेभ नम्बर देखिएन जहाँ ३ ओटै मिस्डकल र एउटा म्यासेज शौरभकै नाममा सेभ थियो । बल्लतल्ल मनमा छिरेका आशाका किरणहरु बाक्लो, कालो बादलले छेकिदिएझै गुमनाम भए । उठेर फ्रेस भएँ । जहाँ जादा पनि मोबाइल साथमै रहन थाल्यो । आशा थियो त्यो मडारिरहेको कालो बादल छिट्टै हट्ने छ र उदाउँनेछन् सुनौला रेशाहरु मनुसाको मिठो स्वर संगै । १० बज्यो त्यो बादल हटेन । खाना पकाएँ खाएँ साढे ११ बज्यो अझैपनि फोनको आएन । एकछिनपछि फोनको रिङ बज्यो । स्त्रिनमा अनसेभ नम्बर देखियो । हतार हतार फोन रिसिभ गरँे र बोलेँ-

‘हेलो, मनुसा ?’
‘हेलो सर म बाइक रिपेरिङ सेन्टरबाट, हजुरको बाइक रेडि भयो तपाई आएर लिन सक्नुहुन्छ ।’
हत्तेरिका, यसलाइ पनि अहिलेनै फोन गर्नुपरेको ? अलिकति रिस उठ्यो ।
‘ल ल म एकैछिनमा आएर लिन्छु ।’
अलिकति रिस र अलिकति लाज मिश्रीत स्वरमा भनेँ ।
‘हवस् सर् ।’
यति भन्दै उसले फोन राख्यो ।
मन औडाह भयो ।
१२ बजे सम्म पनि फोन नआउँदा एकमनले भन्यो
‘किन फोनको पर्खाइमा बसेको ? उसकै घरमा जा न ?’
फेरी अर्का मन बोल्यो,
‘हैन उसले फोन गर्नेछे यहिँ बस् ।’
यहिँ मनको कुराले दोधरमा परिरहेको बेला फोनको रिङ फेरी बज्यो । रिसीभ गरेँ ।
‘हेलो ?’
‘सुरज ?’
‘मनुसा…?’
एक्कासी आँखा बन्द भए । आँसु बरर झरे । मन शान्त भयो । सायद उसको फोन पर्खदा पर्खदा थाकेका आँखाले पनि शान्त महसुस् गरे होलान् र अशान्तिका बादल पग्लिएर थोपा थोपा बनि आँखाको डिलबाट झरे होलान् ।
‘म नै हो भन्ने कसरी थाहा पायौ ?’
उसले अचम्मित हुदै भनी ।
‘जसको आवाज हरेक पल यो मनमा गुञ्जिरहन्छ उसको स्वर चिन्न सक्दिनँ होला मैले ?’
अनायासै फुत्किएछन् यि शब्दहरु, सायद मन झुट बोल्न मान्दैन थियो ।
‘भन, आज फ्रि छौ ? ४/५ बजे ?’
उसलाई मैले भनेको वाक्यले केहि फरक पारेनछ सायद । मनमा ग्लानी उत्पन्न भयो । र उस्तै लवजमा मैले भनें-
‘अँ, तिमी संग भेट्ने भनेर आज अफिस नगएको तर ४/५ बजे किन नि अलि छिटो भेट्न सकिदैन ?’
मलाइ भने उसलाई भेट्न हतार भईसकेको थियो । भित्तामा झुन्डिएको घडि हेरेँ, घडिको मोटो सुँई १ को पछि उभिएको थियो ।
‘हेरन, अहिले म बिजी छु त्यसैले ४ बजे भन्दा अगाडि समय मिलाउँन सकिनँ । भ्याउँछौ नि आउँन ?’
उसको औपचारिकता अगाडि म नतमस्तक भएँ र भनेँ ।
‘हुन्छ आउँछु, तर कहाँ भेट्ने ?’
मैले पनि औपचारिकता निभाएँ ।
‘हिमालयन जाभा कफी ठमेल ।’
‘ओके, आई वील बि दिएर ।’
‘ओके, सि यु दिएर । बाई ।’
‘बाई ।’

फोन राखिसकेपछि मन हल्का भएको महसुस भयो । तर ४ बजेसम्म पर्खन मलाई निकै सकस् हुनेवाला थियो । के गरुँ ४ बजेसम्म ? तड्पिन थालेँ म । उसले साच्ची किन छोडेर गएकी होलि मलाई त्यतिखेर ? सोच्न थालें फेरी मनले भन्यो ‘३ घण्टा पर्खिन सक्दैनस ? अब त मनुसा सधै तेरो त हो नी । फेरी पहिलेको कुरालाई किन मनमा खेलाइरहन्छस् ?’ ‘हुनपनि हो उ त अब मेरै लागि त आएकी हो नी अब ३ घण्टा पछि सबै थाहा पाइने छ म किन हतारिएको ?’ मनले र मैले कुरा गरिरहयौ ।.
दिउसोको ३ बज्यो । म घरबाट निस्किएँर सोझै बाइक रिपेरिंग सेन्टर गएँ र बाइक लिएर ठमेलतिर दौडिएँ । पुतलीसडक पुग्दा बाइकले फेरी धोका दियो । स्टार्ट नै भएन । भर्खरै रिपेरिंग सेन्टर बाट ल्याएको एक्कासि के भयो ? रिस उठ्यो त्यो बनाउने मान्छे संग । फेरी आफैसंग पनि । किन्दा किन्दै त नया नै किनेको भए हुनेथियो यसरि धोका दिने त थिएन नी । मनुसालाई सम्झिएँ उसले पनि यसरीनै धोका दिएकी थिइ । मन भारि भएर आयो । मोबाइल झिकेर घडी हेरें । ४ बजेर २१ मिनेट गईसकेको थियो । वरिपरी ओर्कशप हेरें कहिँ दिखिएन । बाइकलाई डोर्याउदै बागबजार पुर्याएँ । बन्न अलि टाइम लाग्ने भएकाले म हिडेरै जाने निधो गरेँ । फोनको रिंग बज्यो मनुसाको थियो । रिसिभ गरें –
‘कहाँ छौ सुरज ?’
हेलो भन्न बित्तिकै उसको प्रश्न आयो ।
‘हेरन,आउँदा–आउंदै बाटोमै बाइक बिग्रियो अहिले हिडेर आउंदै छु । दरबार मार्ग पुगें तिमि पुग्यौ ?’
मैले पनि उत्तर सहित प्रश्न दोहोर्याएं ।
‘म पुगिसके । ल छिटै आउ है त, म पर्खन्छु यहि ।’
हुन्छ भनेर फोन राखें ।

बिचरी मनुसा एक्लै के गरेर कुर्ने होलि यत्रो समय मलाइ । बाइकसंग रिस उठ्यो । न यहाबाट ठमेल जाने गाडी पाउछ । हिडेर जादा कम्तिमा २०/२५ मिनेट लाग्छ ।
बागबजार हुदै घन्टाघर पुगें । टाउको माथि ठड्याएंर घडी हेरें । ४ र ५ को बिचमा मोटो सुइ सुतेको थियो । दरबारमार्ग सडक बिचमा ठड्याईएका पोलहरुमा क्रटिना कैफ मुस्कुराइरहेकी थिइ । मलाई मनुसाको अगाडि क्रटिनाको मुस्कान फिक्का लाग्यो । सडक वारि पारि शिरीषका रुखहरु नांगिएका थिएँ तरपनि सुन्दर नै देखिएका थिएँ । यस्तो लाग्यो, सुन्दर चिज जे-जस्तो अवस्थामामा भएपनि सुन्दर नै देखिन्छ । मनुसालाई सम्झिएँ, उ पनि त जस्तो अवस्थामा पनि सुन्दर देखिन्छे । बाटोभरी मान्छे र गाडीको चाप एकै किसिमको थियो । म लैनचौरतिर सोझिएँ । मनुसासंग भेट्ने खुसीले बाटो कटेको पत्तै हुदैन थियो । मनमा अनेकन कुराहरु खेले । जित्ने, हार्ने कुनैपनि कुराहरुको निश्चित थिएन । के मनुसाले फेरी मेरो मनमा उमंग छर्ने छे ? के उ म संग बिहे गर्ने छे ? यस्तै यस्तै प्रश्नहरु दोहोरिरहे मनमा, म अन्जान भएर चुपचाप हिडिरहें ।
हिमालयन जाभा कफी, ठमेल । सिडि चढेर पहिलो तल्लामा पुगेँ । आकाशले सूर्यास्तको पहिरन पहिरिरहेको थियो । त्यसैले होला सिसाले बारिएको बाहिरी कोठाभित्र घामका पहेंला रेशाहरु कोठाभरि छरिएका थिए । घाटीमा क्यामरा झुन्ड्याईरहेका कुइरेहरु पश्चिमतिर क्यामरा बटारिरहेका थिए । टेबलहरु भरिभराउ थिए गोरा अनुहारले । तीमध्ये केहि जोडीहरु मस्किरहेका थिए एक अर्कासंग भने केहि औपचारिकता निभाईरहेका थिए । हुनत त्यहाँ पहिला पनि जुत्ताको छाप नबसाएको होइन तर ति जुत्ताको छाप मेटिसकेका थिए मात्र एकहुल याद बाहेक । आज फेरी पाईला टेकेको छु तर पहिलेभन्दा नितान्त फरक आभास पाईरहेको छु । मनमा एक किसिमको उमंग छाएको छ । अनुहारभरि हर्षको लाली पोतिएको छ । आखाँभरी खुसीको बहार छाएको छ । खुट्टाहरु हलुङ्गो भएर हिडिरहेका छन् । त्यो कोठामा भएका गोरा विदेशी अनुहारसंग मेरा आँखाले चिनेका अनुहार नदेखेपछि खुट्टाहरु सलक्क भित्र छिरे । आखाँ नझिम्काएरै वरीपरी फन्को मारेँ । बिचभागमा पुस्तकको पाना पल्टाउदै गरेकि एक युवतीकहाँ पुगेर मेरा आँखा टक्क रोकिए । किनकि त्यहाँ बसेकी युवती मेरा आँखाको तलाउमा सधैजसो पौडि खेलिरहन्थि र मेरा आँखामा जम्मा भएको आसुँ धमिल्याएर जान्थि म भने धमिलो आसुँ बगाईरहन्थेँ तर आज मेरा आँखा सफा पारीदिएकि छे र त उस्लाई प्रत्यक्ष देखिरहेको छु सायद त्यसैले होला उसलाई अत्यन्तै सुन्दर देखिरहेको छु । सुन्दर आखाँ । सुन्दर मुहार । यस्तो लाग्दै थियो उ सबै कुरामा पर्फेक्ट छे तर मायामा ?
***
‘हाइ मनुसा ।’
मनुसा बसेको सोफा अगाडी गएर बोलाएँ ।
‘हेलो सुरज ! बसन ।’
मुस्कुराउदै आफु अगाडिको सोफामा बस्न इशारा गर्दै भनि ।
‘तिमीले धेरै कुर्नुपर्यो है मलाई ? सरि फर द्याट ।’
बसिसकेपछि औपचारिकता निभाउदै भनें ।
‘हैन, खासै ढिला छैन तिमि आयौ खुसी लाग्यो ।’
पढ्दै गरेको बुक टेबलमा राख्दै भनि ।
‘दि भेजिटेरियन् ? बूकर इन्टरनेसनल प्राइज पाएको हो नी यो पुस्तकले । राम्रो छ ।’
मैले उसले टेबलमा राखेको पुस्तकतिर नजर झुकाउदै भनें ।
‘अँ राम्रो लागिरहेको छ । पढ्दै छु, । बरु सुनाउ तिम्रो कस्तो चल्दै छ जिन्दगी ?’
‘खै के भनौं बाचेकै छु अहिलेसम्म । सायद तिमि फेरी भेटिने छ्यौ भनेर होला ।’
उसको अनुहार मलिन भयो । मलाइ लाग्यो उसको चम्किलो अनुहारमा यो मलिन रंग पोतिएको सुहाउदैन, त्यसैले उसलाई कसरि खुसी पार्ने भनेर सोच्दै थिएँ वेटरले टेबलमा पानी राख्दा झस्किएँ ।
‘थ्याकं यु ।’
‘यु वेलकम सर ।’
मुस्कुराउदै वेटर गयो ।
‘ए साच्ची तिमीलाई एउटा गिफ्ट छ ।’
सानो ब्यागबाट एउटा पाकेट झिक्दै मनुसा बोलि ।
‘ला, मलाई त केहि ख्याल नै भएन गिफ्टको ।’
उसको गिफ्ट स्वीकार गर्दै ग्लानी भावमा भनें ।
‘हैन केहि छैन तिमि नै मेरो गिफ्ट हौ नी ।’
मनुसा हास्दै बोलि ।
(दुबैजना हास्यौ )
‘अहिले खोलौ कि पछी ?’
‘पछि नै खोल ।’
उसको भनाइलाई स्वीकार्दै मैले ब्यागमा राखें ।
‘कहाँ के गर्दै छौ आजभोली ?’
उ एकदमै खुलेर बोल्दै थिई जसले गर्दा मलाइपनि उ संग बोल्न सजिलो भैरहेको थियो ।
‘यतै एउटा एन् जी ओ मा काम गर्छु । अनि तिमि ?’
‘म पनि भर्खर एक हप्ता भयो काठमाडौँ आएको कामकै सिलसिलामा हेरौं कस्तो हुन्छ…?’
हल्का मुस्कुराउदै मनुसा बोलि । उ मुस्कुराउदा उसका लहरै मिलेका दांतका पंति घामले टलक्क टल्किएको कुनै हिमालभन्दा कम थिएन ।
‘अनि …’
म केहि बोल्न खोज्दै थिएँ उसको फोन बज्यो ।
‘एकैछिन ल … हेलो ? अँ हामी यहि माथि छौ माथि नै आउनुहोस् न ।’
‘को हो मनुसा ?’
‘एकैछिन है तिमीलाई सरप्राइज छ ।’
म एकदमै डराइरहेको थिएँ, त्यो बिचमा म केहि बोल्न सकिरहेको थिएंन । कतै बिहेको कुरा गर्न उसको परिवारबाट कोहि आउनुभएको हो कि ? कि उसको साथि होला । अनेकन कुराहरु मनभरी गुम्सिए । साच्ची कस्तो सरप्राइज दिदै छे त मनुसाले यस्तै सोच्दै थिएँ परबाट एउटा पुरुष आकृति हाम्रो नजिक बढ्दै थियो …
‘हेलो …’
परैबाट हात हल्लाउदै उ बोल्यो । नजिक आइसकेपछि मनुसा उठेर उ संग अँगालो हाली । मेरो दिमाग शुन्य भयो । मसंग सोच्नलाई केहि शब्दहरु थिएनन् । मनुसाले म तिर इशारा गर्दै परिचय गराउदै भनि –
‘उ सुरज । सुरज, उहा मिलन, मेरो हजबेन्ड ।’
एक्कासि म बसेको सोफा भासिएको जस्तै भान भयो । पृथ्वी फनफनी घुमेजस्तै भयो । रिंगटा लागेजस्तै भयो । उसले हात बढाउदै भन्यो
‘हेलो ।’
मैले पनि थरथरी कापिरहेको हात अगाडी बढाउदै मलिन स्वरमा भनेँ
‘हेलो ।’
……
कफी आयो । पियौ । त्यो बिचमा के के कुरा भयो मलाई केहि याद भएँन । मलाई बस् मनुसाले भनेको ‘उहा मरो हजबेन्ड’ भन्ने शब्द हजार पटक गुन्जियो मनभित्र । अनेकन तरंग पसे । आफु के बोल्ने भन्ने पनि सम्हाल्न नसकी नसकी बोलिरहे । कुरा गरिरहें ।
….
‘ल सुरज भेट भयो खुसि लाग्यो अब हामि जान्छौ ।’
करिब १५ मिनेट जति कुराकानी भैसकेपछी मिलन उठेर हात अगाडी सार्दै भन्यो ।
‘ओके ।’
मैले पनि हात मिलाउदै भनें ।
‘बाइ सुरज, आफ्नो ख्याल गर्नु ।’
मनुसा उठेर बोलि । म केहि बोल्न सकिनँ । उनीहरु गए । बाहिर निस्कनै लाग्दा मनुसा म तिर फर्कि र उसका शितल आखाहरुले मलाई हेरें । मैले बिदाइको हात हल्लाएँ ।
एकैछिन पछी म पनि उठेर हिडें । बाहिर निस्कदा सुर्यले डाडा काटिसकेको थियो र मनुसाले पनि । उसले दिएको गिफ्टको याद आयो खोलेर हेरें । त्यो त्यहि गिफ्ट थियो जुन मैले २ बर्ष पहिले उसलाई दिएको थिएँ आज फिर्ता गरेकी छे । मन भारि भैरह्यो । आखाको डिलभरि आशु भरिएं । त्यहि गिफ्ट संगै एउटा कागज थियो, खोलेर हेरें केहि कुरा लेखिएको थियो। पढ्न मन लागेन फ्याकिदिउँ ? फेरी, हैन पढ्छु भन्ने लाग्यो र हिड्दै पढ्न थालें –
***
प्रिय सुरज !
खै कसरि उतारू, मेरा पिडाका घाउहरु यो सेतो कागजमा ? उतारेपनि जस्ताको तस्तै उत्रिने रहेनछन् तरपनि म आफै पोखिन खोज्दै छु सायद म नै पोखिएं भने मेरा घाउ हरु केहि मात्रामा भएनी देख्न पाउने छौ र कहिकतै फरक रंग पनि पाउने छौ किनकि त्यो रंग म दुखेर मेरा नयन बाट झरेका अश्रुधारा हुनेछन र लेखेका शब्दहरुलाई फरक रंग दिनेछन ।
सुरज, म चाहन्थें तिमीसंग कहिलै भेट नहोस् किनकि तिमीसंग भेट भयो भने मैले आफुलाई सम्हाल्न सक्ने थिईनं । कसै गरि मैले आफुलाई सम्हालेपनि मैले आफ्नो मनलाई सम्हाल्न सक्ने थिइनं । त्यस्तै भयो हिजो । मैले सोचेकै थिइनँ कि तिमीसंग यहाँ यस्तो अवस्थामा भेट होला भन्ने तर भयो यस्तै । जति टाढा जान खोज्यो उतिनै नजिकिन्छ यो मन तिमि संग तर पनि मैले आफुलाई सम्हालेरै बस्न चाहन्छु किनकि अब धेरै ढिला भैसकेको छ । चाहेर पनि भेट्न नसकिने अवस्थामा मा छौ हामि दुई।
सुरज ! त्यो दिन मलाइ थाहा नै थिएँन कि मलाइ लिन बाबा नै आउनुहुन्छ भनेर तर भयो त्यस्तै । केहि दिन अघिदेखि घरबाट छिटो आउ भनेर सधै फोनमा कराउनुहुन्थ्यो बाबा, ममी हरु । त्यसको खास कारण थियो मेरो बिहे । त्यो कुरा तिमीलाई त्यो केहि दिनभित्र धेरै पटक भन्न खोज्थें तर हिम्मत जुटाउन सक्थिनं । तिमीलाई माया गर्छु भन्न हिम्मत जुटाउने मान्छेले तिमीलाई मेरो घरबाट मेरो बिहेको दबाब आइरहेको छ भनेर भन्ने हिम्मत जुटाउन नसकेको कारण थियो मेरो इन्गेजमेन्ट, जो तिमीलाई थाहा थिएन । थाहा होस् पनि कसरि मैले नै नभनेपछी । यो कुरा थाहा पाउदा तिमि म संग पक्कै रिसाउने छौ सुरज, किनकि यस्तो कुरा तिमीलाई मैले सुरुमै भन्नुपर्ने थियो तर खै कसरि भन्न सकिन त्यो मलाइ अझैपनि थाहा छैन । जब म तिमीबाट टाढा हुदै थिएँ त्यो कुरा खुलाउन पनि सकिन र त्यसै तिमीलाई एक्लै छोडेर टाढा भएँ तर सुरज तिमीलाई म आज सबै कुरा प्रस्ट्याउदै छु । पढ्दा रिस उठ्ला म संग । तर यो चिठी पुरा नपढी नफ्याक्नु ।

(कुइरेको साइकलसंग ठोक्कीएछु
‘आर यु म्याड ?…के के बोल्दै थियो मैले सरि भन्दै पन्छिएं ।)
कुरा यो भन्दा ४ बर्ष अघिको हो मैले, त्यतिखेर मैले भर्खर ब्याचलर जोइन गरेकी थिएँ । त्यतिखेर एउटा कार्यक्रममा मेरो भेट मिलन श्रेष्ठ संग भयो उहाँ त्यो कार्यक्रममा सबैको आकर्षणको केन्द्र हुनुन्थ्यो भलै म कसरि छुट्न सक्थें त्यो हुल बाट । उहाँसँग कुराकानी भयो । कुरा गरेरै सबैलाई फिदा बनाइदिने उहाको बानीले म सुरुमै फिदा भएँ उहाप्रति । उहाले गर्ने कुरा लगाएत सबै कुरा मलाइ मन पर्दै गयो । फेरी भेट्ने कुरा भयो । भेटियो । अर्को भेटमै उहाँले म संग सिधै प्रेम प्रस्ताब राख्नुभो । म अचम्ममा परें । मैलेपनि सिधै हुदैन भनेर नकार्न सकिनँ किनकि उहाँ मेरो मन पर्ने मान्छे हुनुन्थ्यो । मन पर्दापर्दै पनि हुन्छ भन्न सकिन किनकि मैले उहालाई राम्रो संग जान्ने मौकानै पाएकी थिइनँ । अर्को दिन भन्छु भनेर म त्यहाबाट उम्किएँ र घरमा गएर उहाँकै बारेमा सोचिरहें भोलि आइसक्यो तर पनि के उत्तर दिने होला भनेर सोच्न सकेकी थिइनँ । जब उहाले फोन गर्नुभयो र के सोच्यौ भनेर सोध्नुभयो मेरो मुखबाट एक्कासि ‘हुन्छ’ भन्ने शब्द फुत्कियो । लजाउदै फोन काटें । त्यसपछि हाम्रो प्रेम सम्बन्ध प्रगाट बन्दै गयो ।
हाम्रो सम्बन्ध बिस्तारै साथीहरुलाई थाहा भयो । आफन्तजन हरुलाई थाहा भयो अनि घरपरिवारलाई पनि। बाबा ले धेरै गालि गर्नुभयो किनकि मैले थाहा पाएसम्म हाम्रो परिवारमा कसैले प्रेम बिबाह गरेको थिएनन् । म रोइ कराई गरेपछि बाबाले मिलन सहित उहाँको परिवारलाइ घरमा बोलाउनुभयो त्यहाँ एक्कासि बिहेको कुरा निस्कियो । दुवै परिवारको सहमति भयपछी इन्गेजमेन्टको मिति पक्का भयो । इन्गेजमेन्ट भयो । इन्गेजमेन्टको केहि दिन पश्चात उहाँ एउटा कार्यक्रममा १५ दिनको लागि अमेरिका जानुभयो । १५ दिन बित्यो आउनुभएन । महिनादिन बित्यो आउनुभएन । सम्पर्क बिहिन हुनुभयो उहाँ हामी सबै बाट । उहाँको अफिस र परिवारसंग सोध्दा कार्यक्रमबाट भागेको, कहिले आउने निश्चित नभएको सुन्दा म छाँगा बाट खसेजस्तै भएँ । परिवार भाबबिह्वल भयो त्यस्तै कयौं दिन बिते । महिना बिते । बर्ष बित्यो, उहा आउनुभएन । मेरो पहिलो बर्षको परीक्षा सकियो । मलाई त्यहाँ खुसि नदेखेपछि घरबाट मलाइ बाबाले काठमाडौँ ट्रान्सफर गरिदिनुभयो पढ्नको लागि । त्यहाँ फुपु कि छोरी संगै बसेर पढ्न थालें, पछी उहा बिबाह गरेर गएदेखि म फेरी एक्लै भएँ । त्यो एक्लोपन त्यतिखेरको हो सुरज जुन बेला तिमि भर्खर मेरो छिमेकी बनेर आएका थियौ । जब तिमि आयौ म मेरो एक्लोपनलाइ भुलाउन तिमीसंग नजिकिन थालें । थाहा थिएँन त्यसरी तिमीसंग एकदिन छिमेकी होइन तिम्रो प्रेमिका बनुला भनेर तर खै कसरि त्यो सब भयो मलाई थाहा छैन । सायद तिमि नै थियौ जसले मलाइ बुझ्न सक्थ्यो त्यतिबेला ।

(भुरुरु उडेर एउटा सुकेको पात मैले पढ्दै गरेको कागजमा अडियो । माथि हेरें नारानहिटी दरबार संग्राहलयकै छेउको रुख जसका धेरैजसो पातहरु झरेर रुख नांगिएको थियो । सोचे यो बोटका पातहरु झरेपनी फेरी नया पालुवा पलाएर उस्तै सुन्दर हुनेछ तर म ? चिठीतिरै ध्यान दिएँ ।)
कुरा तिमीलाई छोडेर आउनुभन्दा केहि दिन अघिको हो घरबाट बाबा ले फोन गर्नुभयो र भन्नुभयो “मिलन अमेरिकाबाट आउनुभयो अब छिटै साइत हेरेर बिहे गर्ने कुरा भाको छ भोलि नै घर आइज ।” एक्कासि उहाको कुरा सुन्दा म सक्ड भएँ । केहि बोल्न सकिन फोन राखे । एक्लै बसेर रोएँ । तिमीलाई यो कुरा कसरि सुनाउँ भन्ने सोच्दै सोच्दै दुइ दिन बित्यो र झन् नसोचेकै कुरा बाबा आएर मलाइ लिएर जानुभयो ।
घरमा मैले तिम्रो बारेमा भन्न सक्ने अवस्था पनि थिएन । भनेपनि मान्नुहुने थिएन र मेरो मिलन संगै बिबाह भयो । बिबाहपछि उहाँ कामको लागि काठमाडौँ आउनुभयो भयो । म भने घर सम्हाल्दै, पहिले पढ्दै गरेको कलेजमा पढ्न थालें । एक वर्षपछी मलाइ काठमाडौँ नै जब मिलेपछि म पनि काठमाडौँ आएँ र काठमाडौँ आएको १ हप्ता नहुदै हामि त्यसरी भेट हुन पुग्यौं जहाँ तिम्रो साथीको छिमेकीको रुपमा हामी बस्दै आएका थियौँ । संयोग पनि कस्तो हेरन तिमि हिजोको साटो आज त्यहाँ गएको भए मलाई कहिलै भेटाउने थिएनौ किनकि आज हामी त्यहाँ बाट अनेत्र सर्दै थियौं र सरिसक्यौं पनि ।
सुरज, जसरि हिजो हाम्रो भेट भयो त्यतिखेर मैले आफुलाई सम्हाल्नै सकिनं । किन किन तिमि संग एक्कासि नाजिकिएँ जब तिमीले “मलाई किन छोडेर गयौ” भनेर सोध्यौ मन गरुङ्गो भएर आयो, त्यतिखेर पनि भन्न सकिन । सायद तिमीलाई प्रतक्ष्य आँखा जुधाएर भन्न सक्ने थिइनँ र यो कागजको साहारा लिंदै छु ।
र अन्त्यमा, मैले तिमीलाई जे जति दुख, पिडा दिएँ त्यो सबको लागि म माफी माग्छु सुरज, आशा छ अब त पक्कै माफ गर्नेछौ मलाई । अनि अर्को कुरा, मिलनलाइ तिम्रो र मेरो बारेमा सबै कुरा थाहा छ । बिहे पश्चात म केहि दिनसम्म खुसि नभएको देखेर उहाले सोध्नुभयो र मैले सबै कुरा भनेकी हुँ तर पनि उहाले आफै माफी माग्नुभयो र भन्नुभयो “म तिमीलाई सधै खुसि राख्नेछु ।” सायद उहाले यसको कारण आफैलाई दोषी ठान्नुभयो होला । मलाई धेरै माया गर्नुहुन्छ उहाले । अब म सधै उहाकै अर्धा्न्गिनी हुँ र रहने छु । सुरज, सायद यो भेट नै हाम्रो अन्तिम भेट होला । तिमि हिजो जहाँ गएका थियौ त्यहाबाट हामि टाढा गैसकेका छौं । अब म हराइसकेकी छु तिमि खोज्ने प्रयाश नगर्नु ।
उहिँ
तिम्रो हुन नसकेकी
मनुसा ।

Share this
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •